११ औँ चरणको हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान शुरु

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, माघ २५ २០७६

बागलुङका ११औँ चरणको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शनिबार देखि शुरु भएको छ । हात्तीपाइले रोग निवारणका लागि गरिएको एक दशकदेखिको प्रयास विफल भएपछि पुनः अभियान थालिएको हो ।
बागलुङ नगरपालिका वडा नम्बर १२ को नारायणस्थानमा हात्तीपाइलेको संक्रमण देखिए पछि कार्यालयले जिल्लाभरका नागरिकलाइ हात्तीपाइलेको औषधि खुवाउन थालेको हो ।
क्युलेस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोगको निवारण हुन कम्तीमा एक प्रतिशतमा आइपुग्नुपर्छ तर नारायणस्थानमा केही वर्षअघि ३ प्रतिशत रहेकामा घटेर २ दशमलब ३ प्रतिशत पुगेको थियो । गत वर्षदेखि फेरि बढेर झण्डै ५ प्रतिशतमा उक्लेपछि औषधि खुवाउने अभियान सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो ।
शनिवारदेखि सञ्चालित अभियानको जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तलाई औषधि खुवाएर शुभारम्भ गरिएको छ । स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा खुवाइने हात्तीपाइले बिरुद्धको औषधि खुवाउने अभियान केही दिन सम्म जारी रहने बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो । नगरपालिका र जिल्लाभर आफुलाई पायक पर्ने स्थान र केन्द्रमा पुगेर हात्तीपाइलेको औषधि खान सकिने व्यवस्था गरिएको खनालले जानकारी दिनुभयो ।
लामखुट्टेले संक्रमितलाई टोकेपछि सार्ने भएकाले जोसुकै मानिस संक्रमणको जोखिममा रहन्छन् । तत्काल लक्षण नदेखिने भएकाले लामो समयपछि मात्र थाहा हुन्छ । हात, खुट्टा सुनिने, शरीरका जुनसुकै स्थानमा संक्रमण देखिने, अण्डकोशहरू सुनिएर हाइड्रोसिल हुने जस्ता समस्या यो रोगमा हुने गर्छ ।
यस वर्ष बागलुङका २ लाख ६३ हजार १२० जनालाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने लक्ष्य रहेको भनाई छ । गण्डकी प्रदेशको बागलुङसँगै छिमेकी जिल्ला पर्वत र लम्जुङ्गमा पनि हात्तिपाई रोगको प्रभाव देखिएको हुँदा औषधी खुवाउने कार्यक्रम रहेको छ । औषधी खुवाएको ६ महिना पछि पुनः स्वास्थ्य सर्भेक्षण गरिने छ ।
मुटुको रोगी, कलेजी रोगी, गर्भवती महिला, ५ वर्ष मुनिको कुपोषित बालबालिका, २४ घण्टा भित्र ज्वरो नआएको व्यक्तिलाई हात्तिपाइलेको खुवाउन नहुने चिकित्सकहरुले बताएका छन् ।