‘महभीर क्यानोनिङ’ ले पर्यटकको ध्यान तान्दै

धौलागिरी एफ.एम. संवाददाता, पर्वत / प्रकाशित मिति :
सोमबार, माघ २០ २០७६

पर्वतको कुस्मा नगरपालिका–३, दुर्लुङको महभीरमा रहेको छांगारोहण (क्यानोनिङ) ले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तानेको छ ।
गण्डकी प्रदेशका कास्कीको ल्वाङ, बिरेठाँटी त्यस्तै स्याङ्जा लगायतका ठाउँमा रहेका मध्ये दुर्लुङमा रहेको क्यानोनिङ सबैभन्दा अग्लो हो, जुन १ सय १५ मिटर उचाइको रहेको छ ।
कुस्मा नगरपालिकाको अम्बोटदेखि क्यानोनिङ भएको चनौटे हुँदै कास्की, म्याग्दी र पर्वतकै विभिन्न ठाउँहरूमा पुग्ने गरी पदमार्गको विकास भएको छ भने सदरमुकाम कुस्माबाट सवारी मार्फत आधा घण्टाको समयमा क्यानोनिङमा पुग्न सकिन्छ ।
साहसिक खेलमा रमाउनेहरूका लागि दुर्लुङको क्यानोनिङ धेरैको रोजाइमा पर्ने छांगारोहण निर्माणका अभियन्ता गोलमान गुरुङले बताउनुभयो । क्यानोनिङमा सिङ्गल र डबल आरोहण गर्ने गरी व्यवस्था मिलाइएका कारण पनि धेरैको रोजाइमा पर्दै जान थालेको हो ।
क्यानोनिङको छेवैमा रहेको २३ मिटर अग्लो रक क्लाइम्बिङ (डोरीमा झुन्डिएर चट्टानमा चढ्ने) रहेका कारण पनि दुर्लुङ पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्ने वडाध्यक्ष तेजप्रसाद पाध्याको भनाई छ ।
हालै मात्रै सफल परीक्षण भएको कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो बन्जी जम्पमा आउने साहसिक पर्यटकको लागि पनि दुर्लुङमा रहेका क्यानोनिङ र रक क्लाइम्बिङ थप आकर्षणका वस्तु रहने अभियन्ता गुरुङले बताउनुभयो ।