घाइते केसीको उपचार खर्च जुटाउन पत्नीको हारगुहार

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
बुधबार, माघ ८ २០७६

म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीका अमित केसी रुख ढाल्ने क्रममा गम्भीर घाइते भएपछि उपचार खर्च जुटाउन पत्नी सुस्मा केसीले हारगुहार गर्नुभएको छ ।
काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका केसीको उपचारमा धेरै रकम खर्च हुने र परिवारको आर्थिक अवस्थाले उपचार गर्न नसकिने भएकाले घाइतेकी पत्नी सुस्माले सहयोगको अपिल गर्नुभएको हो ।
माघ १ गते गाउँमै रुख काट्ने क्रममा घाइते भएका केसीको ढाड र दुवै खुट्टामा गहिरो चोट लागेको छ । दुर्घटनामा गम्भीर घाइते केसीलाई हेलिकप्टरबाट उद्धार गरी पोखराको मणिपाल अस्पतालमा र्पुयाएपनि उपचार सम्भव नभएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा राखिएको छ ।
‘उपचारमा धेरै रकम लाग्ने र कति लाग्ने भनेर अनुमानित भन्न नसकिने अस्पतालका डाक्टर विनोद बिजुक्छेले बताउनुभएको छ,’ घाइते पत्नी सुस्माले भन्नुभयो, ‘हालसम्म १० लाख रुपैयाँ खर्च भएको छ, कति लाग्ने हो थाहा छैन । उपचारका लागि कम्तिमा २ महिनासम्म अस्पतालमा बस्नुपर्ने देखिन्छ । रकम अभावमा खुट्टाको अपरेसन हुन सकेको छैन ।’
कृषि पेशामा रहेका केसी परिवारले आर्थिक सहयोगका लागि देशविदेशमा रहेका म्याग्दी र नेपाली दाजुभाइ र दिदीबहिनीलाई अपिल गरेका छन् । वडाध्यक्ष रिमबहादुर कटुवालले समेत गम्भीर घाइते केसीको उपचारमा आर्थिक सहयोग गरिदिन गाउँपालिका, विभिन्न सहयोगी संघसंस्था, क्लब, आमा समूह, स्वेदश तथा विदेशमा रहेका म्याग्दी तथा नेपालीलाई आग्रह गरेका छन् ।
आर्थिक सहयोग र घाइतेको वास्तविक अवस्था बुझ्न चाहनेका लागि मोबाइल नम्बर समेत सार्वजनिक गरिएको छ । सहयोगको लागि सुन्तली कार्कीको नाममा ग्लोबल आईएमई बैंकको खाता नम्बर – ३५०७०१०००६९१६ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।