विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको पोखरामा निधन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, माघ ४ २០७६

होचा व्यक्तिको विश्व कीर्तिमान राखेका बागलुङका खगेन्द्र थापा मगरको पोखरामा निधन भएको छ ।
खगेन्द्रको शुक्रवार दिउँसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि थापालाई बिहिबार अस्पतालमा भर्ना गरिएको थियो ।
मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरलाई शुक्रवार दिउसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगर जानकारी दिनुभयो ।
खगेन्द्रको निमोनियाका कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ । खगेन्द्रमा यसअघी स्वासप्रश्साव समस्या, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यक भन्दा बढी हुने जस्ता समस्या देखिदै आएका थिए ।
बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउनुभएको थियो । ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च रहेका थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिदै मेडल पहिराएको थियो ।
गिनिज बुकमा नाम लेखाउन १८ वर्ष पुग्नुपर्ने प्रावधान रहेका कारण छ महिनापछि मात्र उहाँको रेकर्ड आधिकारिक रुपमा प्रमाणित गरिएको थियो । धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र पोखराको सृजनाचोकमा बस्दै आउनु भएको थियो ।
रूप बहादुर थापा मगर र धनमाया थापा मगरका पुत्रका रुपमा खगेन्द्रको धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्म भएको थियो । जन्म भएको बेला खगेन्द्र मात्र ६ सय ग्रामको हुनुहुन्थ्यो । उहाँको वजन ५ दशमलव ५ किलोग्राम मात्र रहेको थियो ।