लागु औषधले जीवन सकिन्छ

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, पुष १८ २០७६

बागलुङ बजारमा बिहिबार लागु औषध दुव्र्यसनी सम्बन्धी अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ बागलुङ सिटि र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा लागु औषध सम्बन्धी आमाहरुलाई सचेतना प्रदान गरेको हो । मानिसको जीवन नष्ट गर्ने लागु औषध नियन्त्रणमा लिनका लागि सचेतनामूलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
कार्यक्रमको सहजीकरण गर्दै लागुऔषध विरुद्धको अभियान्ता तथा नारकोन नेपालका सञ्चालक बसन्तराज कुँवरले युवाहरुको जीवनलाई समाप्त पार्ने लागुऔषध विरुद्धको अभियानमा सबै लाग्नु पर्ने बताउनुभयो ।
लागुऔषध बिनाको समाज निर्माणमा आमाहरुको सबैभन्दा ठूलो भुमिका हुनेभएकाले सबैैलाई आफ्नो छोरा छोरीको आनी बानीका विषयमा जानकार राख्न आग्ह गर्नुभयो । उहाँले मानिसलाई पागल बनाउने र अन्त्यमा समाप्त गर्ने लागुऔषध, मध्यपान तथा धुम्रपानलाई प्रयोग नगर्न आग्रह गर्नुभयो ।
कुँवरले लागु औषध सेवन कर्ताको आनीबानी फरक हुँने भएकाले अभिभावक आफ्ना छोराछोरीको पढाई, खानपान, निद्रा तथा डुल्ने घुम्ने विषयमा जानकार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले सभ्य समाज निर्माणका लागि लागुऔषध मुक्त समाज निर्माण गर्नुपर्ने बताउनुभयो ।
लागुऔषधमा फस्ने बातावरण र फसेका सुधार्ने बातावरण स्वयं अभिभावकले तयार गर्नुपर्ने बताउनुभयो । कार्यक्रम लायन्स क्लव अफ बागलुङ सिटिका अध्यक्ष दिपा कुमारी जि.सी.को अध्यक्षता, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टको स्वागत तथा लायन्स क्लव अफ बागलुङ सिटिका अम्बिका बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।