असल बुहारीलाई सम्मान, सुत्केरीलाई रातो भाले

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, पुष १५ २០७६

बागलुङको बरेङ गाउँपालिकाले धुल्लुबास्कोटका असल बुहारीलाई सम्मान गरेको छ ।
सासु ससुरालाई हेरचाह गर्ने, घर वरपरको वातावरण सफा राख्ने र सामाजिक सेवामा सक्रिय बुहारीलाई पालिकाले सम्मान गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
बरेङ गाउँपालिकाले सोमबार वडा नम्बर १ धुल्लुबास्कोटका ९ असल बुहारीलाई सम्मानपत्रद्वारा सम्मान गरेको थियो । गाउँपालिकाले धुल्लुबास्कोटकी कला थापा (लुरुङ), शान्ती छन्त्याल (मजुवा), तारा पौडेल (लिउँवा), लक्ष्मी आचार्य (बास्कोट),हिरा थापा (भिउडाँडा), देवी थापा (उर्लेनी), प्रतिमा थापा (गडेल), चन्द्रा श्रीस थापा, भिममाया पुन रानालाई असल बुहारीका रुपमा सम्मान गरेको थियो ।
त्यस्तै पालिकाले सोही वडा भित्रका ७० वर्षमाथिका ६० जना जेष्ठ नागरिकलाई पनि सम्मानसँगै स्वास्थ्य परीक्षण गरेर आयुर्वेद औषधि समेत वितरण गरेको छ । गाउँपालिकाले ६ जना सुत्केरी महिलालाई भने रातो भाले वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।
पालिकाले गत बुधबारको एक सूचना मार्फत पालिकाभित्रका असल बुहारी र जेष्ठ नागरिकलाई सम्मान गर्ने जानकारी दिएको थियो । मंगलबार (१५ गते) वडा नम्बर २ हुग्दिशिरमा सोही कार्यक्रम गरिने गाउँपालिकाको कार्यालयले जानकारी गराएको छ ।