शिक्षा सुधार्न २३ बुँद्दे घोषणा पत्र

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, पुष ८ २០७६

बागलुङको जैमिनी नगरपालिकाले सार्वजनिक शिक्षाको गुणस्तर सुधारको लागि २३ बुद्दे घोषण पत्र जारी गरेको छ ।
सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा शिक्षा सम्बन्धि कानुन निर्माण सुझाव संकलन कार्यशालाबाट २३ बुँदे घोषणापत्र जारी गर्दै नगरपालिकाले सार्वजनिक शिक्षामा सुधारको औपचारिक पहल थालेको हो ।
शिक्षामा लगानी कम हुने प्रतिफलको आशा धेरै हुने भएकाले शैक्षिक सुधारका लागि पहल थालिएको नगर प्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । नगरले बनाउन लागेको शिक्षा ऐनका लागि सुझाव संकलन र सार्वजनिक शिक्षामा सुधारका लागि आवश्यक छलफल गर्न बिज्ञ सहितको कार्यशाला आयोजना गरिएको थियो ।
राष्ट्रिय शिक्षा निती अनुसार बालकक्षादेखि कक्षा ८ सम्मका बालबालिकालाई निःशुल्क तथा अनिवार्य शिक्षा लागु गर्न नगरपालिकाले सरोकारवालासँगको सहकार्यमा काम थाल्ने भएको छ । शिक्षण शिकाईलाई नियमीत र प्रभावकारी बनाउनका लागि बिद्यार्थी तथा शिक्षकको नियमित हाजिरी परिक्षण गर्ने घोषणा पत्रमा उल्लेख छ ।
उत्कृष्ट शिक्षक बिद्यार्थी पुरस्कृत गर्ने, महिनामा एक पटक हरेक बिद्यालयले अभिभावक भेला गरी स्वमुल्यांकन गराउने, मल्टिमिडियाको माध्यामबाट अध्ययन अवलोकन, बिद्यालय हाताभीत्र माद्यक पदार्थको तथा सुर्तिजन्य पदार्थको सेवनमा रोक, बालमैत्री, अपांगमैत्री तथा लैंगिकमैत्री हिंसा नभएको बिद्यालय क्षेत्र बनाउने घोषणा पत्रमा उल्लेख छ ।
सिकाईमा पछाडी परेका बालबालिकाको लागि अतिरिक्त कक्षा सञ्चालन, बिद्यालय सुधार योजना निर्माण, कार्यान्वयन र समयमा समिक्षा, कक्षा तीन सम्मका बालबालिकाको लागि डेक्स बेन्चको साटोमा व्यवस्थीत बसाई सहितको कक्षाकोठा, अभिभावकसँगको सहकार्यमा अनिवार्य दिवा खाजाको व्यवस्थापन, पाठ्य योजनाको तयारी, अध्यावधि र कार्यान्वयन, बिद्यालय हाताभित्र करेसाबारी, बृक्षारोपण, पठनपाठनको माध्यम नेपाली अंग्रेजीका अलवा स्थानी भाषा हुन सक्ने, बिद्यार्थी प्रतिभा पहिचान, बिद्यार्थी संख्या कम भएका बिद्यालयको व्यवस्थापन तथा दरवन्दीको मिलान र शैक्षिक बर्षको अन्त सम्ममा नगरको शिक्षा ऐन तयार गर्ने लगायतका महत्वपुर्ण बुँदा घोषणा पत्रमा समाबेश गरिएको छ ।
जैमिनी नगरपालिकाका सबै बिद्यालयमा प्रद्यानाध्यापक, नगर कार्यपालिकाका सदस्यहरु, शिक्षक कर्मचारी तथा पत्रकारहरु सहभागि कार्याशालाले घोषणा पत्र तयार परेको हो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष डिल्लिराम सुवेदीले शिक्षालाई अरु बिकासका पूर्वाधार जस्तै राजनीतिक रुपमा मुल एजेण्डा बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यशालामा सरोकारवालाहरुले जैमिनी नगरपालिकाले निर्माण गर्न लागेको शिक्षा ऐनको मस्यौदना माथी आफ्ना सुझाव राखेका थिए ।
नगरले कानुन बनाउँदा कार्यान्वयन हुने खालको बनाउनु पर्ने र कानुनी सहजताले मात्रै शैक्षिक बिकासमा टेवा पुग्ने उहाँहरुको धारणा थियो । जैमिनी नगरपालिकाले शिक्षाका लागि राष्ट्रिय अभियान नेपालकासँगको सहकार्य र ओपन सोसाईटि फाउण्डेसनको सहयोगमा कार्यशालाको आयोजना गरेको थियो ।