म्याग्दीको तातोपानी कुण्डमा नेपालको ६९ जिल्लाका बिरामी

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
मंगलबार, पुष ८ २០७६

प्राकृतिक उपचार केन्द्र म्याग्दीको तातोपानी कुण्डमा बिरामीको संख्या बढ्दै जान थालेको छ ।
कुण्डसम्मै सहज यातायातको पहुँच, भौतिक पूर्वाधारको विस्तार, होमस्टेको व्यवस्था र प्रचार प्रसारका कारण पछिल्लो समय कुण्डमा बिरामीहरुको संख्या बढेको हो । बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी कुण्डमा पछिल्लो पटक बिरामीहरुको भीड लागेको छ ।
गएको १ वर्षको अवधिमा मात्रै नेपालका ६९ ओटा जिल्लाका बिरामीहरुले तातोपानी कुण्डमा स्नान गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । म्याग्दीको तातोपानी कुण्डमा डुब्न आउने सबैभन्दा धेरै बागलुङबाट आउने गरेका छन् ।
स्वदेश तथा विदेशका ठूला र महङ्गो अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि बिरामीहरु तातोपानी कुण्डमा आउने गरेका छन् । कुण्डमा नेपालको अधिकांश जिल्लाका साथै भारत, बङ्गलादेश, पाकिस्तान, जापान र स्पेनबाट पनि बिरामीहरु आउने गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो ।
कुण्डमा स्नान गर्न एकपटक आएका बिरामीहरु पटकपटक आउने गरेका छन् भने विदेशीले समेत हप्ता दिनसम्म नुहाएर फर्किन्छन् । कुण्डमा सर्वसाधारण एवं बिरामीहरुको भीड बढ्दै गएपछि कुण्डको भित्र र बाहिर छुट्टै बाथटप तथा पोखरी बनाइएको छ । परिवारको सहयोगमा कुण्डमा आएका धेरै बिरामीहरु घर फर्किने क्रममा हिँडेर जाने गरेको स्थानीयवासी बताउँछन् ।
अहिले तातोपानी कुण्डमा दैनिक ४ सय बिरामीहरुले नुहाउँदै आएका छन् भने पुरुषहरुको तुलनामा महिलाहरु धेरै छन् । बिरामीहरु बढेपछि महिला र पुरुषले नुहाउने छुट्टाछुट्टै पालो निर्धारण गरिएको छ । तातोपानी कुण्डमा डुबेपछि नशा सम्बन्धी, बाथ, युरिक एसिड र टाउको दुख्ने समस्याको रोग निको भएको बिरामीहरु अनुभव छ ।
जमिन मूनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वाद सहित निस्कने तातोपानी कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिक एसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्केको, बज्रिएको सहित चिसोबाट लागेका सबै रोगहरु निको हुने जनविश्वास रहि आएको छ ।