बागलुङ क्षयरोगका विरामी बढ्दै

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, पुष ४ २០७६

बागलुङमा क्षयरोगका विरामीको संख्या बृद्धि हुँदै गएको छ । बिरामीले नियमित औषधि सेवन नगर्दा क्षयरोगका बिरामी निरन्तर बढ्दै गएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा ५२ जना नयाँ क्षयरोगका बरामी फेला परेका छन । जसमा सर्ने खालको क्षयरोग (टिबी) २८ जनामा छ भने २४ जनामा नसर्ने खालको क्षयरोग लागेको छ ।
संक्रमित हुनेमा महिलाभन्दा पुरुषको संख्या बढी रहेको कार्यालयप्रमुख सुरज गुरौले जानकारी दिनुभयो । अघिल्लो वर्ष जिल्लामा कुल दुई सय क्षयरोगका बिरामी थिए । गुरौले भन्नुभयो, ‘यस वर्षको पहिलो चौमासिकको अवस्था हेर्दा झनै बढ्ने देखिएको छ । यही दरले हो भने यस वर्ष २ सयभन्दा माथि क्षयरोगका बिरामी पुग्ने देखिन्छ ।’
गत वर्ष कुल दुई सयमध्ये सर्ने खालका बिरामी १ सय १२ रहेका थिए भने नसर्ने खालका बिरामी ८८ जना थिए । क्षयरोग महिलाको तुलनामा पुरुषमा बढी देखिने गरेको कार्यालय प्रमुख गुरौको भनाई छ ।
गत वर्ष १ सय ३० जना पुरुष रहेका थिए भने बाँकी ७० जना महिला थिए । क्षयरोगको पत्ता लगाउने दर ८० प्रतिशत छ भने उपचार सफल हुने दर भने ९० प्रतिशत रहेको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत देवप्रकाश घिमिरेले बताउनुभयो ।