विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, मंसिर २५ २០७६

गत वर्ष स्थापित ‘विद्या–विष्णु जेहेन्दार छात्रवृत्ति अक्षयकोष’ले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगद पाँच हजार एक सयसहित प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
छात्रवृत्ति पाउनेमा विसं २०७५ को (एसइई) मा छात्रातर्फ उत्कृष्ट अङ्क ल्याउने गणेश मावि बागलुङका रोजिना विक, छात्रतर्फ सोही विद्यालयका गणेश ढकाल, विराट सापकोटा र अशोक पौडेल रहनुभएको छ ।


पर्वतबाट नवजागृत माविका छात्रा अनिता शर्मा, छात्र गणेश अधिकारी, राष्ट्रिय मावि घतान, म्याग्दीका छात्र निशान चोखाल, छात्रा प्रतिक्षा ढुङ्गाना र मुस्ताङको जनआदर्श अमरसिँह मावि, कोवाङका छात्र प्रविण बरुवाल र छात्रा कल्पना बुढा रहनुभएको छ ।
यस्तै धवलागिरि वीरेन्द्र मावि बागलुङबाट (एसइई) परीक्षामा सहभागी विद्यार्थीमध्ये सबैभन्दा बढी अङ्क ल्याउने छात्र शुसान्त शर्मा र छात्रा कृतिका सापकोटालाई जनही दुई हजार पाँच सय रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।
छात्रवृत्तिबाहेक उक्त विद्यालयका २९ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको कोषका अध्यक्ष वैकुण्ठ सापकोटाले बताउनुभयो । आठ जनालाई १५ सय र २१ जनालाई एक हजार बराबरको झोला सहितका शैक्षिक सामग्री प्रदान गरिएको हो ।