सरकारले तर्क ः लिम्पयाधुरासँगै सुस्ताको विवाद पनि टुङ्गिन्छ

धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति :
शुक्रबार, मंसिर १३ २០७६

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याको समाधान एकैपटक खोजिने बताउनुभएको छ ।
‘कालापानी, लिपुलेकको प्रश्नै होइन, प्रश्न लिम्पयाधुराको हो । सिमा समस्या समाधानको विधि कुटनीतिक र राजनीतिक नै हो’ मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भन्नुभयो ।
सीमा समस्या समाधानका लागि नेपाल सरकारले भारत सरकारलाई कुटनीतिक नोटसमेत पठाइसकेको जानकारी दिँदै मन्त्री बास्कोटाले कुटनीतिक र राजनीतिक रुपमा लिम्पियाधुरासँगै सुस्ताको सिमा समस्याको पनि समाधान गरिने बताउनुभयो ।
‘कागजात जुटाएर तथ्यगत आधारमा भारतसँग कुरा गरेर लिम्पियाधुरा मात्रै होइन सुस्ताको विवाद पनि टुङग्याउँछ,’ मन्त्री बाँस्कोटाले भन्नुभयो । नवलपरासीको सुस्ताको सीमा नारायणी नदीले फेरिरहने बाटोले पनि समस्या भएको स्थानीयले बताउँदै आएका छन् ।
संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले पनि सबै क्षेत्रका सीमा विवाद एकै पटक हल गर्ने गरी पहल गर्न सरकारलाई निर्देश गरेको थियो । संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले नेपाल भारत सन्धीका सक्कल कपी नेपालसँग नरहेको पाइएको भन्दै निकालेको निश्कर्षको भने मन्त्री बास्कोटाले खण्डन गर्नुभयो ।
‘हामीले गरेका सन्धि र सम्झौताको सक्कल नै छैन भनेर निश्कर्ष निकाल्नु हतारको निर्णय हुन सक्छ’ बास्कोटा भन्नुहुन्छ ‘हामीसँग नभएपनि अन्य देशका म्युजियमहरुमा हुन सक्छ । त्यसको पनि खोजी गर्नुपर्छ ।’ मन्त्री बास्कोटाले सीमा समस्याबारे अध्ययन गर्न गठित समितिले तीन महिनाभित्र आफ्नो प्रतिवेदन दिने पनि बताउनुभयो ।