सूचना केन्द्र निर्माण्को काम अघि बढाईयो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, मंसिर ३ २០७६

संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार शिविरमा सूचना केन्द्र निर्माणको काम अघि बढाइएको छ ।
८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरमा पर्यटकहरुको सहजताका लागि सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ ।
धौलागिरि गाउँपालिकाले पर्यटकको तथ्याङ्क र विवरण राख्न, आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन र सूचना उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गर्न लागेको हो । गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयको ३१ लाखको सहयोगमा ३ कोठे भवन निर्माण भएको गाउँपालिकाका प्राविधिक बालकृष्ण पौडेलले बताउनुभयो ।
भवनमा रङरोगन र फर्निचर व्यवस्थापन गरेर आगामी यामदेखि सूचना केन्द्र सञ्चालन गर्ने तयारी गरेको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । सूचना केन्द्रबाट हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकको तथ्याङ्क राख्ने, सूचना प्रदान र प्राथमिक उपचार सेवा उपलब्ध गराइने उहाँको भनाई छ ।
मुस्ताङ र म्याग्दी भएर धौलागिरि आधार शिविरमा आउने जाने पर्यटकको तथ्याङ्क राख्न लागिएको पुनले जानकारी दिनुभयो । यसले आधार शिविरमा पुगेका पर्यटक र सहयोगीलाई प्राथमिक उपचार सेवा उपलब्ध समेत गराउनेछ ।
सूचना केन्द्रमा एक जना स्वास्थ्यकर्मी खटाइने छ । चिसोका कारण आधार शिविरमा बिरामी हुन्छन् । उनीहरुलाई स्वास्थ्य परीक्षण, परामर्श र औषधोपचार उपलब्ध गराउने योजना छ । पर्यटक तथा पर्यटन व्यवसायी र स्थानीयवासीको मागको आधारमा चेकपोष्ट राख्न लागिएको हो ।
आधार शिविरमा बिरामी हुँदा हेलिकप्टर बोलाएर अस्पताल पुर्याउने गरिएको छ । चेकपोष्ट राखिएपछि पर्यटकको विवरण राख्न र उनीहरुलाई अप्ठ्यारो परेको अवस्थामा सहयोग पुग्नेछ ।