विदेशी पर्यटकको रोजाइमा खोप्रालेक

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, कार्तिक २४ २០७६

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा पर्ने खोप्रा लेक विदेशीको रोजाइमा परेको छ ।
खोप्राबाट देखिने तलतिरका वन, टाढा टाढाको मनमोहक पहाडी भूगोल एवं ग्रामीण बस्तीसँगै बिहान देखिने सूर्योदयले पर्यटकलाई लोभ्याउने गरेको छ ।

गत वर्ष आन्तरिक पर्यटकभन्दा बाह्य पर्यटक धेरै आएको खोप्रामा रहेको सामुदायिक लजका प्रबन्धक नारायण पुन नवीनले बताउनुभयो । जुलाईदेखि अहिलेसम्म ३ सय ५० आन्तरिक पर्यटक आएका खोप्रा पुगेका छन् । आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटक दोब्बर रहेको पुनको भनाई छ ।

त्यहाँबाट मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरी, धौलागिरी, गुर्जा लगायतका दर्जनौं हिमश्रृंखला नजिकबाट अवलोकन गर्न मिल्छ । खोप्रा लेकबाट म्याग्दी सहित पर्वत, कास्कीका पहाडका बस्ती समेत देखिन्छ । खोप्रामा रहेको सामुदायिक लज भरिभराउ भएपछि पर्यटक टेन्टमा समेत बस्ने गरेका छन् ।

सदरमुकाम बेनीदेखि ३ घण्टाको यात्रा र ५ घण्टाको पैदल यात्रामा खोप्रा लेक पुगिन्छ । पैदलमार्ग हुँदै खोप्रा लेक पुग्न कठिन भएपनि त्यहाँ पुगेपछि दुख भुलिने पर्यटकहरुको भनाई रहेको छ । माइनस १५ डिग्रीसम्म चिसो हुने खोप्रामा महावीर पुनको वायरलेस् इन्टरनेट पनि उपलव्ध रहेको छ ।