बागलुङ महोत्सवको लागि प्यारागलाईडिङको परीक्षण उडान

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, कार्तिक २४ २០७६

पर्यटकीय गन्तव्यको रुपमा बिकास भैरहेको बागलुङको पञ्चकोटमा शनिवार प्याराग्लाईडिङको परीक्षण उडान गरिएको छ ।आगामी पुष दोश्रो साता हुने बागलुङ महोत्सवलाई सफल बनाउने उद्धेश्यले बागलुङ उद्योग बाणिज्य संघको अगुवाईमा पोखराबाट आएका व्यवसायिक पाईलट कृष्णबहादुर सुनुवारले उडान गरेका हुन् । पञ्चकोटबाट उडेपछि उनी धौलागिरी बहुमुखी क्याम्पसको चउरमा आएर अवतरण गरेका थिए । अवतरण गरिसकेपछि सुनुवारले व्यवसायिक उडान गर्न सकिने संभावना देखेको बताए । त्यसका लागि बागलुङको उपल्लाचौर तर्फ अवतरण गर्ने मैदान बनाउन उनले सुझाव दिए ।

महोत्सवको अवसरमा उडान गराएर रौनक थप्ने उद्धेश्यले प्याराग्लाईडिङ गर्ने पाईलटलाई बोलाएको बागलुङ उद्योग बाणिज्य संघका महासचिव नरेश कंडेलले बताए । ‘बागलुङमा पर्यटक ल्याउन सकिन्छ भन्ने उद्धेश्यले परीक्षण गराएका हौं’ कंडेलले भने, ‘व्यवसायिक उडान भर्ने काम भयो भने बजारक्षेत्रको व्यवसाय पनि बढ्नेछ ।’ पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल निर्माणाधिन छ । यो बिमानस्थल निर्माण सम्पन्न भएर संचालनमा आएमा पोखरामा केन्द्रीत सबै प्याराग्लाईडलाई अन्यत्र सार्नुपर्छ । त्यसका लागि बागलुङ गन्तव्य बनाएर राख्न संघले पहल गरेको अध्यक्ष युवराज राजभण्डारीले बताए ।
पञ्चकोटमा १ सय ८ फीट अग्लो कलस बनाउने महत्वकांक्षी योजना छ । त्यसकालागि प्रारम्भिक पूर्वाधारहरु निर्माण भैरहेका छन् । योजना अनुसारको काम सम्पन्न भएमा पञ्चकोटमा दैनिक सयौं पर्यटक पुग्ने संभावना भएपछि व्यवसायीहरुले प्याराग्लाईडिङको संभाव्यता अध्ययन र परीक्षण गराएका हुन् । बिदेशी र नेपालीहरुपनि साहसिक खेलको रुपमा प्याराग्लाईड गर्न रुचाउन थालेका छन् । उक्त स्थानबाट प्याराग्लाईड गर्दा प्रति व्यक्ति ५ हजार रुपैयाँ सम्म तिर्ने गर्छन् । त्यसबाट केही रकम स्थानीय बिकासमा खर्चन सकेपनि राम्रो आम्दानीको अवसर हुने तथा आएका पर्यटक बागलुङमा बस्दा होटल व्यवसायको व्यपार बढ्ने बताइएको छ । होटल संचालन हुँदा किसानको तरकारी समेत सहज रुपमा बिक्री हुने कंडेलले बताए ।