जिल्ला अस्पताल पर्वतलाई १५ लाखका उपकरण सहयोग

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
मंगलबार, कार्तिक १९ २០७६

सामाजिक सेवामा सक्रिय रहँदै आएको रोटरी क्लब अफ पर्वतले जिल्ला अस्पताल पर्वतमा डिजिटल मसिनहरू सहयोग स्वरूप प्रदान गरेको छ ।

जिल्ला अस्पताल पर्वतबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाई पर्वतका बिरामीहरूलाई पोखरा जानुपर्ने बाध्यता अन्त्य गर्नको लागि डिजिटल यु.एस.जी मसिन र डिजिटल वेट मेसिन हस्तान्तरण गरिएको हो ।

जिल्ला अस्पताल पर्वतमा यस अगाडि २ ओटा यु.एस.जी मसिन रहेकोमा अब ३ ओटा मेसिनबाट सेवा प्रवाह गर्न सकिने भएको छ । नेपालमा पोलियो रोग उन्मुलनको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र जिल्ला अस्पतालमा पोलियो रोग सहित अन्य रोग निदानका लागि सामग्रीहरू उपलब्ध गराएको क्लबका अध्यक्ष लेखनाथ शर्माले बताउनुभयो ।

विभिन्न सहयोगदाताहरुसँगको सहकार्यमा १५ लाख मूल्य बराबरका सामग्रीहरू हस्तान्तरण गरिएको हो । सामग्रीहरू ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले रोटरी क्लबले बिरामीहरूको सेवालाई ध्यानमा राखेर गरेको सहयोग अनुकरणीय रहेको बताउनुभयो । उहाँले उपकरणहरू खरिदका लागि आर्थिक सहयोग गरेकाहरूप्रति पनि आभार व्यक्त गर्नुभयो ।

क्लबले मेसिन सहयोग गरेपछि यस अगाडि सेवा प्रदान गर्दै आएका उपकरणमा कुनै पनि समस्या आए पनि यु.एस.जी गर्नकै लागि बिरामीहरूलाई पोखरा पठाउनुपर्ने बाध्यताको अन्त्य हुने अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले बताउनुभयो । १० जना चिकित्सकहरूको दरबन्दी रहेको अस्पतालमा आवश्यक परेको अवस्थामा एकै पटक ३ ओटै यु.एस.जी मेसिन चलाएर पेट, कलेजो, मिर्गौला लगायतको भिडियो एक्स–रे गर्न सकिने उहाँको भनाई छ ।

सामग्री उपलब्ध गराएको रोटरी क्लब अफ पर्वतलाई कुस्मा नगरपालिकाको तर्पmबाट उप प्रमुख सिता काफ्ले लामिछाने र जिल्ला प्रशासन कार्यालयको तर्पmबाट सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।