मृगौला पीडित विश्वकर्मालाई एक लाख सहयोग

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, कार्तिक १६ २០७६

बागलुङ नगरपालिका–४ कालिमाटीका मृगौला पीडित रेशमबहादुर विश्वकर्मालाई एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।
दुवै मृगौलाले काम गर्न छोडे पछि उपचारत विश्वकर्माको उपचारमा सहयोगार्थ गठित रेशमबहादुर विश्वकर्मा बचाउ समितिले संकलन गरेको रकम शुक्रबार परिवारलाई हस्तान्तरण गरिएको हो ।
युकेमा रहेको सयपत्री कल्चर ग्रुप र डम्मरसिंह विक र सन्तोष विकको पहलमा संकलित एक लाख २८ हजार ९३० र म्याग्दीको दरबाङ्गमा हिराबहादुर विकको सक्रियतामा संकलित २२ हजार ५५५ रुपैयाँ समितिका अध्यक्ष टिकाकुमारी विक र सहयोग संकलकहरुले संयुक्त रुपमा विरामीका छोरा पवन विश्वकर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।
दुवै मृगौलामा समस्या भए पछि लामो समयदेखि काठमाण्डौको मनमोहन मेमोरियल अस्पतालमा उपचाररत विश्वकर्मालाई दशैदेखि फेरि मुटुमा समेत सदस्या देखिएको छ । मुटुको मुख्य रक्तनलीमा समस्या देखिएकाले तत्काल मुटुको उपचार गरेर मात्रा मृगौलाको उपचार हुने छ ।
एक पछि अर्काे गम्भिर प्रकृतीका रोग देखिन थाले पछि परिवारलाई थप आर्थिक भार थपिदै गएको छ । परिवारको आर्थिक नाजुक छ उपचारमा निकै कठिन भयो’ छोरा पवन विश्वकर्माले भन्नुभयो–‘पैसा अभावले बाबाको ज्यान जोखिममा राख्न पनि सकिएन ।’
उपचारको लागि ५०/६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको विकको भनाई छ । समितिको पहलमा धनमाया विक र प्रोजिना विकले १७ हजार ५००, स्पेनबाट ३१ हजार ४२१, विश्वकर्मा समाज बागलुङ–काठमाण्डौ सम्पर्क समाजले २० हजार रुपैयाँ विरामीको व्यक्तिगत खातामा जम्मा भएको विश्वकर्मा समाज बागलुङका अध्यक्ष ओमबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
रकम हस्तान्तरण कार्यक्रमको संचालन रामबहादुर विश्वर्माले गर्नुभएको थियो । उपचारको सहयोगार्थ विदेशबाट रकम आउने क्रम जारी रहेको तत्काल सम्पूर्ण विवतरण सार्वजनिक कठिन भए पनि १९÷२० लाख रुपैयाँ रकम संकलन भएको बताइएको छ ।