भकुण्डेमा भेगन गु्रपका पर्यटकको भ्रमण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, कार्तिक १५ २០७६

विशुद्ध शाहाकारी भोजन गर्ने भेगन गु्रपका पर्यटकहरुले पर्यटकीय गाउँ बागलुङ नगरपालिका–१० भकुण्डे भ्रमण गरेका छन् ।
सांस्कृतिक तथा प्राकृतिक सुन्दरता बोकेको भकुण्डेका पर्यटकिय स्थलको अवलोकन गर्दै युरोप तथा अमेरिकाबाट आएका पर्यटकहरु रमाए । दुई दिने भ्रमणमा आएका भेगन गु्रपका २१ जना विदेशी पर्यटकहरु संस्थागत रुपमा पहिलो पटक जिल्लामा आएका हुन ।
अहिंसावादी सोचका साथ अगाडी बढेको यस समुह फर्किएपछि पुनः ४÷५ वटा समुहलाई पनि बागलुङका पर्यटकिय क्षेत्र घुमाउने योजना बनाएको भेगन गु्रप नेपालले जनाएको छ । बागलुङ नगरपालिका कार्यालयको संयोजनमा आएका पर्यटकहरुले बागलुङको कालिका भगवती मन्दिरको दर्शन गर्नुका साथै भकुण्डेमा पदयात्रा गरेका हुन् ।
जिल्लाको विकासका निम्ति पहिलो कदम भएकाले आगामी दिनमा पनि यस क्षेत्रको विकासका लागि पहल गर्ने भेगन गु्रप नेपालका अध्यक्ष सुरेश नेपालले बताउनुभयो । जिल्लामा भित्रिएका पर्यटकहरुलाई बागलुङ नगरपालिकाले एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरेको छ ।
बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले पदयात्रमा निष्किएका पर्यटकलाई ढाकाको टोपी र पछ्यौरा ओढाएर सम्मान गर्नुभएको थियो भने उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले उकालोमा हिड्दा आवश्यक पर्ने लौरी प्रदान गर्नुभएको थियो ।
चिप्लेटी बसपार्कमा आयोजना गरिएको कार्यक्रममा मेयर पौडेलले शाहाकारी भोजनले स्वास्थ्यलाई पनि राम्रो हुने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम लिएर आउन पर्यटकहरुलाई आग्रह गर्नुभयो ।
विभिन्न जातजाती, भाषाभाषी तथा संस्कृतिले भरिपुर्ण रहेको बागलुङ जिल्लामा पर्यटक भित्राउने संस्थागत सुरुवात भएको पौडेलले बताउनुभयो । बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नगरपालिकाका बरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदीले बताउनुभयो ।
सोही अवसरमा महिला हित बचत तथा ऋण सहकारी संस्थाले पनि फुलमालाले स्वागत गरेको थियो । भेगन गु्रपका पर्यटकहरु चिप्लेटी बसपार्क हुदैँ तित्याङ जोड्ने अवलोकन गर्दै भकुण्डेको पदयात्रामा गएका थिए ।
यस्तै गु्रपले भकुण्डेमा रहेको भैरव माध्यामिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई आवश्यक पर्ने कापी, कलम लगायतका सामाग्री एवं विद्यालयलाई पुस्तकहरु हस्तान्तरण गरेको बताइएको छ ।