पुरातात्विक वस्तु संग्रालयको स्थापना गरिने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, कार्तिक १ २០७६

बागलुङको काठेखोला गाउँपालिका–७ रेशले पुरातात्विक वस्तु संकलन सुरु गरेको छ ।
रेशको वैनथानमा स्थानिय पुरातात्विक वस्तु संग्रालय स्थापना गर्ने उद्देश्यका साथ वडा कार्यालयले परम्परागत जीवनशैलीमा आधारित वस्तु संकलन सुरु गरेको हो ।
स्थानिय पुरात्विक वस्तुहरुको संरक्षण, संम्बर्धन तथा पर्यटन प्रर्वद्धनको लागि संग्रालयको स्थापना गर्न लागिएको हो । वडाको १ लाख ५० हजार र सामुदायिक वन तथा स्थानिय समुदायको सहयोगमा संग्रालय स्थापना गर्न लागिएको वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।
संग्रालयमा ठेको, मदानी, आरी, हलो, जुवा, लिड्को, मोही काठ, हल्लुडो, सेउ, लिस्नो, मदुस, माटोका पुराना सामग्री, ढड्यौलो, चर्खा, चुर्कि, फकुलि, पुझई, चौईटि, गौवा, घोत्रा, पुराना घडि रेडियो, लालटिन, क्यामरा, डाली, सोली, कोल, ढिकी, जाँतो जस्ता सामाग्रिहरु संकलन गरिने वडा अध्यक्ष लामिछानेले बताउनुभयो ।
संग्रालयको व्यवस्थापन दोटा देउरादी सामुदायिक होम स्टेले गर्ने बताईएको छ । वडा अध्यक्ष लामिछानेका अनुसार संग्रालयमा पुरात्विक बस्तुहरु उपलब्ध गराउने व्यक्तिहरुलाई सम्मान गरिने छ ।