रुप्से झरनाले पर्यटकको ध्यान केन्द्रित गर्दै

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
बिहिबार, असोज ३០ २០७६

सडक सुविधाले म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दानामा रहेको रुप्से झरनामा पर्यटकको संख्या बढेको छ ।
दशै तिहारको अवसरमा हिमाल पारिको जिल्ला मुस्ताङ जाने पर्यटकलाई रुप्से झरनाले लोभ्याएको छ । बेनी–जोमसोम सडकको छेउमै पर्ने रुप्से झरनालाई नजिकबाट नियाल्दै पृष्ठभुमिमा पारेर तस्विर खिच्नेहरुको दिनहुँ हजारौको घुईचो लाग्ने गरेको छ ।
अग्लो छागोबाट खस्ने रुप्से झरनाको सौन्दर्यताको अवलोकन गर्ने युवायुवती तथा विदेशी पर्यटक नागवेली झरना देखेर दंग पर्ने गरेका छन् । अग्लो छागोबाट खस्ने र त्यसपछि करिब एक किलोमिटर भिरालो पहाडमा बग्ने रुप्से झरना कालीगण्डकी नदीमा मिसीने गर्छ ।
रुप्से झरना र संसारकै गहिरो गल्छीलाई नजिकबाट अवलोकन गर्न दशै र तिहारको अवसरमा बेनी जोमसोम सडक भएर आवत जावत गर्ने युवायुवती तथा बाह्य पर्यटकहरुको दैनिकजसो रुप्सेमा भिड लाग्ने गरेको छ । सडकदेखि रुप्से झरना र अन्धगल्छीसम्म पुग्ने पदमार्ग, भ्युटावर र विश्रामस्थल निर्माण भएका छन् ।
पर्यटकको चाप समेत बढीरहेको रुप्सेमा सडक जाम हटाउन र पर्यटकले लामो समय रुप्से विताउने वातावरण सिर्जना गर्न स्थानीय तहले पार्किङ सुविधा लगायतका पुर्वाधार निर्माण गर्नुपर्ने पर्यटकको भनाई रहेको छ ।