ग्वालीचौरमा क्याम्पस चलाउन महायज्ञ हुँदै

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, असोज २६ २០७६

बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरको भानु क्याम्पस सञ्चलानार्थ मंसिर ११ गते देखि १८ गते सम्म बृहत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ ।

महायज्ञ मुल समारोह समितिको शनिबार सम्पन्न बैठकले ग्वालीचौर न्वारमा यज्ञ संचालन गर्ने निर्णय गरेको हो । त्यस्तै वैठकले प्रचार प्रसार तथा आर्थिक संकलनको लागी देशका विभिन्न स्थानमा पुग्ने र अन्तरक्रिया तथा छलफल गर्ने निर्णय गरेको छ ।

महायज्ञ संचालनको लागि बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजाको नेतृत्वमा ११ सदस्यीय टोलीको घोषणा गरिएको छ । टोली २६ गतेदेखि बुटवल हुँदै देशका विभिन्न सहरहरुमा पुगी बडिगाड भित्रबाट त्यहाँ पुगेका व्यक्तित्वहरु संग अन्तरक्रिया गर्ने आयोजकले जनाएको छ ।

बैठकमा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, आर्थिक समितिका संयोजक हरिदत्त आचार्य, वडा अध्यक्ष अर्जुन प्रसाद खरेल, गुणानिधि घिमिरे, कलाधर घिमिरे लगाएतको सहभागिता रहेको थियो । बैठकको संचालन इश्वरी प्रसाद आचार्यले गर्नुभएको थियो ।

सो महायज्ञ संचालन गर्न असोज पहिलो हप्ता खार वजारमा भएको भेलाले महायज्ञ मुल समारोह समिति सहित विभिन्न उपसमितिको गठन गरेको थियो । सो महायज्ञमा भागवत भाष्कर पण्डित कमलनयन गौतमले प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

केहि वर्षदेखि ग्वालीचौरमा क्याम्पस सञ्चालन गर्न प्रयत्न गरिएपनि सार्थकता पाउन नसकेपछि धान्याञ्चल गर्न लागिएको हो । हाल क्याम्पसको लागी जग्गा व्यवस्थापन गरि गाउँपालिकाको सहयोगमा घेरावार गर्ने समेत काम भएको बताइएको छ ।