बागलुङमा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने

निशा अधिकारी, बागलुङ / प्रकाशित मिति :
बिहिबार, असोज ९ २០७६

बागलुङमा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
धौलागिरी अंचल अस्पताल बागलुङ र रोटरी क्लब अफ बागलुङको संयुक्त आयोजनामा कात्र्तिक २ र ३ गते दुई दिन शिविर संचालन आयोजना गरिएको हो ।
धौलागिरी क्षेत्रका बिरामीलाई लक्षित गरी विशेषज्ञा सेवा सहितको स्वास्थ्य शिविर आयोजना गरेको रोटरी क्लव बागलुङका पूर्वअध्यक्ष रेशमबहादुर खत्रीले जानकारी दिनुभयो । धौलागिरी अंचल अस्पताल बागलुङमा हुने शिविरमा ताइवान र नेपालका विशेषज्ञा डाक्टरहरुले उपचार सेवा प्रदान गर्ने छन् ।
शिविरलाई व्यवस्थित गर्न आवश्यक समन्वय र सहयोगका लागि बुधबार बागलुङ बजारमा आयोजित सरोकारवाला पक्षसँग छलफल गरिएको थियो । करिव ५ हजार जनाको स्वास्थ्य परीक्षण तथा उपचार गर्ने उद्देश्यका साथ आयोजना गरिने शिविरको स्थानीय लागत खर्च ७ लाख रुपैयाँ रहने रोटरी क्लवका पूर्वअध्यक्ष रेशमबहादुर खत्रीले बैठकमा जानकारी दिनुभएको थियो ।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका विशेषज्ञा डाक्टरहरुले शिविरमा सेवा प्रदान गर्ने धौलागिरी अंचल अस्पताल बागलुङ अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताउनुभयो ।
शिविरलाई उपलब्धी मुलक, मर्यादित र व्यवस्थित बनाउन जिल्ला स्थित सरोकारवाला क्षेत्रका आवश्यक साथ र सहयोगले अगाडी बढ्ने बताउनु हुन्छ धौलागिरी अंचल अस्पताल बागलुङका अध्यक्ष केवी राना मगर ।
अन्तर्राष्ट्रिय क्षेत्रमा धौलागिरी क्षेत्रको सकरात्मक सन्देश जाने गरी शिविर संचालन तथा सम्पन्न गर्न सके थप भविष्यमा थप सहयोग प्राप्त हुने बताइएको छ । शिविर संचालन गर्दा बिरामीले उपचार सेवा प्राप्त गर्नुको अतिरिक्त अंचल अस्पतालमा समेत थप सहयोग हुने अस्पताल विकास समितिका सदस्य शालीकराम शर्माको भनाई छ ।
बैठकमा सहभागी सरोकारवाला पक्षले शिविरलाई मर्यादित, व्यवस्थित तथा लक्षित वर्गमुखी र विरामी मैत्री बनाउन आवश्यक साथ र सहयोग दिन गर्न तयार रहेको बताएका थिए ।