लोकमार्गको गण्डकी प्रदेश खण्डमा धमाधम काम

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, भाद्र ३१ २០७६

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहको पुष्पलाल मध्यपहाडी लोकमार्गको गण्डकी प्रदेश खण्ड निर्माणले तिव्रता पाएको छ ।

मध्य पहाडी क्षेत्र भएर नेपालको पूर्व पश्चिम जोड्नेगरी निर्माण सुरु गरिएको लोकमार्गको गण्डकी प्रदेश खण्डमा पर्ने गोरखाको आरुघाटदेखि बागलुङको निसीखोलासम्मको करिब तीन सय ५३ किलोमिटर सडक निर्माण तिव्र गतिमा भइरहेको हो ।

विभिन्न खण्ड–खण्डमा विभाजन गरी ठेक्का प्रक्रियामार्फत काम सुरु गरेको लोकमार्ग गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, पर्वत र बागलुङको मध्य भागमा भएर जानेगरी निर्माण गरिएको छ । गण्डकी प्रदेशका पाँच जिल्ला मध्य लोकमार्ग सबैभन्दा धेरै बागलुङ जिल्ला भएर गएको छ ।

बागलुङमा रहेको एक सय ३५ किलोमिटर सडक मध्य अहिलेसम्म ८५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बागलुङ–घोडाबाँधे खण्डको २६ किलोमिटर र निसीखोला गाउँपालिका खण्डको २५ किलोमिटर सडकखण्ड चालु वर्ष भित्रै सम्पन्न गर्नेगरी काम भइरहेको लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिनुभयो ।

पर्वत खण्डमा पर्ने २४ किलोमिटर सडक वर्षा समाप्त भएसँगै भदौ पहिलो हप्तादेखिनै धमाधम काम भइरहेको छ । अहिले सडकको दुवैतर्फ नाली निर्माण गर्ने र मालढुङ्गा–नयाँपुल खण्डको करिब तीन किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ ।

कास्की खण्डको लुम्ले क्षेत्र र नयाँपुल क्षेत्र गरी करिब सात किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने नयाँपुल–याम्दी खण्डको थप ३० किलोमिटर सडक एक वर्षभित्रै कालोपत्रे भइसक्ने कार्यालय प्रमुख थापाले बताउनुभयो ।

कास्की खण्डमा पर्ने ८३ किलोमिटर सडक मध्य याम्दी–नयाँपुल खण्डमा सडक ग्राभेलको काम भइरहेको र अन्य ४६ किलोमिटर सडकको डिपिआर तयार गरी ठेक्कामा लगाउँन बाँकी रहेको छ । मध्यपहाडीले भौगोलिक अवस्था हेरी सडक निर्माण गरिरहेको छ ।

प्रयाप्त जग्गा भएको र भोली शहरीकरणको सम्भावना रहेको ठाउँमा त्यही अनुसार फराकिलो सडक र अन्य ठाउँमा आठ मिटरका सडकहरु निर्माण भइरहेका छन् । कास्कीको याम्दी क्षेत्रमा ६ लेनको सडक निर्माण गरिएको छ भने त्यो भन्दा माथिल्लो लुम्ले क्षेत्रमा आठ मिटरको सडक निर्माण भइरहेको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको लोकमार्ग निर्माणमा बजेटको अभाव नहुने भएपनि निर्माण व्यवसायीहरुले कच्चा पदार्थको अभाव, वर्षाद्को समयमा काम नगर्दा केही असहज भएको आयोजनाको भनाई रहेको छ । यता निर्माण व्यवसायीहरुले भने सडक क्षेत्रमा निर्माण समाग्रीको अभाव हुने, सडक आसपास हुने विद्युत, खानेपानीका पाइप तथा स्थानीयका संरचनाहरुका कारण पनि निर्माणमा केही ढिलाई भएको बताउँदै आएका छन् ।