५५ औँ राष्ट्रिय बाल दिवस मनाईयो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, भाद्र ३០ २០७६

‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ बागलुङमा ५५ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ ।
नेपाल बाल संगठन जिल्ला कार्य समिति बागलुङको आयोजनामा भएको कार्यक्रममा बोल्ने सहभागीले बालअधिकारको प्रत्याभूति व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् । उनीहरुले बालअधिकारलाई संरक्षण गर्नका लागि शिक्षा र स्वास्थ्य सेवालाई पनि प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।
सहभागीहरुले बालअधिकारको ग्यारेन्टीबाट मात्रै देशको सामाजिक, आर्थिक र राजनीतिक विकास समेत संभव भएको पनि धारणा राखेका थिए । घरदेखि उद्योगसम्म बालश्रमको अन्त्य गर्नुपर्ने, निशुल्क र अनिवार्य शिक्षालाई गाउँ तह सम्म पु¥याउनु पर्ने उनीहरुको भनाई छ ।
सहभागीले बालबालिकाको सर्वाङगिण विकासका लागि जोखिमपूर्ण श्रमबाट मुक्ति दिनुपर्ने एवं यौनजन्य शोषण जस्ता गम्भिर खालका गलत काममा प्रयोग गर्न नहुने बताएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले असल नागरिक निर्माणका लागि अहिले देखि नै बालबालिकामा लगानी बढाउनुपर्ने धारणा राख्नुभएको थियो ।
उहाँले बालबालिकालाइ पढ्ने लेख्ने देखि सबै प्रकारका अधिकार दिन सकेमा मात्र सुखद भविष्यको कामना गर्न सकिने धारणा राख्नुभएको थियो । आईतबार भएको मुल समारोहमा विभिन्न खेलमा उत्कृष्ट हुने, एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा जिल्ला बाल सञ्जालकी उपाध्यक्ष देवी सापकोटा, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख कुश्मराज उपाध्याय, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष बालमन्दिर आधारभुत विद्यालयकी पुर्व शिक्षक शकुन्तला शर्मा, समाजसेवी देबबहादुर श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम संगठनका अध्यक्ष शुभाष आचार्यको अध्यक्षता, भगवती केसीको स्वागत र रघुराम भारीको सञ्चालनमा सम्पन्न भएको थियो ।