स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, भाद्र १८ २០७६

बेनी नगरपालिका–१ रत्नेचौरको स्वास्थ्य चौकीमा प्रसुति केन्द्र (बर्थिङ सेन्टर) स्थापना भएको छ ।
गाउँकै स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति सेवा भएपछि सुत्केरी हुनका लागि बेनी, बागलुङ, कुश्मा, पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । अस्पताल पुग्न नसक्ने आर्थिक रुपमा विपन्न समुदायका गर्भवतिहरुलाई घरमै असुरक्षित रुपमा सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
मातृ शिशू मृत्युको जोखिम घटेको छ । बेनी नगरपालिकाको सहयोगमा पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेपछि प्रसुति केन्द्र सञ्चालन भएको हो । वडा कार्यालयको पहलमा नगरपालिकाले प्रसुति केन्द्र स्थापनाका लागि भवन र उपकरणको व्यवस्थापन गरेको छ ।
वडा अध्यक्ष टेकबहादुर रावलले स्वास्थ्य चौकी परिसरमा निर्माण गरिएको विपद् व्यवस्थापन केन्द्रको भवनमा वर्थीङ सेन्टर सञ्चालन गरिएको बताउनुभयो ।
‘बर्थिङ सेन्टरको लागि बनाएको भवन साँघुरो भएकाले त्यहाँ कार्यालय र विपद् व्यवस्थापनका लागि बनेको भवनमा बर्थिङ सेन्टर स्थापना गरिएको हो,’ वडा अध्यक्ष रावलले भन्नुभयो ‘बर्थीङ सेन्टर सञ्चालनका लागि आवश्यक पर्ने सबै उपकरण खरिद गरिएको छ ।’
गत आर्थिक वर्ष २०७५÷७६ मा वर्थीङ सेन्टरको भवनलाई एक लाख, विपद् व्यवस्थापनको भवनलाई पाँच लाख र उपकरण खरिद गर्न एक लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । तालिमप्राप्त जनशक्ति भएपनि पूर्वाधार र उपकरण नहुँदा प्रसुति सेवा सञ्चालन हुन सकेको थिएन् ।
स्वास्थ्य चौकीमा हाल एक जना तालिमप्राप्त स्वास्थ्यकर्मी भएको र नगरपालिकाले थप एक जना कर्मचारी खटाएपछि चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गर्न सकिने स्वास्थ्य चौकीका प्रमुख दिनेश जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार रत्नेचौरमा सुत्केरी हुनेको संख्या वार्षिक सरदर ५० जना छ ।