गाभिने सूचीको विद्यालय नै नमुना

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
आइतबार, भाद्र १५ २០७६

दुई वर्षअघि विद्यार्थी नभए बन्द हुने सूचीमा थियो गहते अम्बोट आधारभूत विद्यालय । फलेबास नगरपालिका–४ मुडिकुवाको यो विद्यालयप्रति कसैको चासो थिएन ।
नगरपालिका स्थापना भएको पहिलो वर्ष नै फलेबासले विद्यालय गाभ्ने सूचीमा अग्रस्थानमै राखेको थियो । यही विद्यालय अहिले भने जिल्लाकै नमुना मध्येमा पर्छ । पढाइको गुणस्तर मात्रै होइन, विद्यार्थी संख्या र विद्यालयमा हुनुपर्ने सबै सूचक छन ।
विद्यालयमा शैक्षिक मात्रै होइन । अन्य गतिविधिले पनि महत्त्व पाउन थालेका छन । ‘नगरपालिकाले गाभ्ने सूचीमा राख्दा गाउँको नाकै काटिने चिन्ता थियो,’ प्रधानाध्यापक ओमकार पौडेल भन्नुहुन्छ, ‘इच्छाशक्ति ठूलो रहेछ ।
नगरपालिकाको त्यो निर्णय हाम्रो मुटुमै बिझ्यो । सबै खटेर लाग्यौं। दुई वर्षमै नसोचेको परिवर्तन भएको छ ।’ अभिभावक, गाउँका शुभचिन्तक र शिक्षकको निरन्तरको सक्रियताले अहिले विद्यालयले नयाँ जीवन पाएको उहाँले बताउनुभयो ।
५८ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयलाई चारैतिर बुट्यान र रुखहरूले घेरिएको छ । खानीगाउँ र मुडिकुवाको सिमानामा पर्ने विद्यालय जति सुन्दर र शान्त छ, त्यतिनै उत्कृष्ट हुँदै गएको अभिभावक बताउँछन।
‘दुई वर्षमै यति राम्रोसँग सुध्रिएला भनेर कल्पना गरेकै थिएनौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवर भन्नुहुन्छ ‘शिक्षक र अभिभावकको प्रयासले यति छिटो परिवर्तन भयो।’ अहिले ७६ विद्यार्थी पुगेका छन । उहाँका अनुसार नगरपालिकाले गाभ्ने सूचीमा राखेपछि समिति र शिक्षकले केही समय पर्खिन भनेका थिए । एक वर्षको समय मागेको र शिक्षक, अभिभावकले निजी विद्यालयमा पढदै गरेका छोराछोरी फर्काएर ल्याए।
शिक्षकले पेशाप्रतिको आनीबानी सुधारे । अंग्रेजी माध्यम र निजी विद्यालयको प्रविधि अपनाए । ‘बोर्डिङको स्टाइलमा लैजान भनेर एलकेजी, यूकेजी कक्षा थप र्गयौं,’ प्रअ पौडेल भन्नुहुन्छ, ‘विद्यार्थी तान्ने अचुक उपाय यही मुख्य रह्यो ।’ निजी विद्यालयमा भन्दा योग्यता र अध्यापन अनुभवका हिसावले उत्कृष्ट शिक्षक भएको विषय अभिभावकले प्रचार गरेपछि विद्यार्थी संख्या हवात्तै बढ्यो ।
२०३५ सालमा स्थापना भएको विद्यालय विद्यार्थी अभावकै कारण माथिल्लो तहमा स्तरवृद्धि हुन सकेको थिएन । हाल कक्षा ८ सम्म मात्रै पढाइ हुन्छ। बन्द हुन लागेको विद्यालय आज उत्कृष्टमा दरिएको फलेबासका प्रवक्ता एवं वडा नम्बर ४ का अध्यक्ष टिकाराम गौडेलको भनाई छ ।