पर्वत जिल्लामा पनि स्वास्थ्य बिमा कार्यक्रम लागु हुने

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
शनिबार, साउन २५ २០७६

नागरिकको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य जोखिमको अग्रिम व्यवस्थापन गर्ने पद्धति अन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम यस बर्ष देखि पर्वत जिल्लामा पनि लागु हुने भएको छ ।

पर्वत जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु गर्ने बिषयमा स्वास्थ्य बिमा बोर्ड संग सहमति भएको हो । पर्वत अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले यस बर्ष देखि बिमा शुरु गर्न बोर्डले सहमति दिएको जानकारी गराउनुभयो ।

बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलसंगको छलफलपछि यसैबर्षबाट बिमा कार्यक्रम शुरु गर्ने सहमति गरिएको अस्पताल बिकास समितिका अध्यक्ष पहाडीले बताउनुभयो । स्वास्थ्य सेवामा नागरिकको पहुँच पु¥याउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गर्दा आर्थिक कठिनाइ नपरोस् भन्ने उद्देश्यले सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको हो ।

स्वास्थ्य बिमा गरेपछि एकैचोटि ठूलो आर्थिक भार नपर्ने भएकाले विशेष गरी विपन्न, आर्थिक रुपमा पछाडि परेका र स्वास्थ्य उपचार गर्नका लागि समस्या भोग्दै आएका समुदायका नागरिकका लागि बढी लाभदायी हुने देखिएको छ । लाभग्राहीले स्वास्थ्य संस्थाबाट निःशुल्क प्राप्त गर्ने औषधि उपचार बाहेकको अन्य औषधि खरिद तथा स्वास्थ्य परीक्षणमा मात्रै उक्त सेवाबाट उनीहरुलाई सुविधा प्रदान गरिने प्रावधान रहेको छ ।

पर्वतमा स्वास्थ्य बिमा सेवा लिने सेवाग्राहीले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रबाट उक्त सुविधा लिन पाउने छन । गत २०७२ साल चैत्र २५ गतेदेखि कैलालीबाट सुरु भएको यो कार्यक्रम इलाम, बागलुङ, म्याग्दी लगायतका जिल्लामा यसअघि नै लागू भइसकेको कार्यालयले जनाएको छ ।