प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाईते

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, साउन २५ २០७६

बागलुङ नगरपालिका–१४ नारायणस्थान स्थित गणेश माध्यमिक विद्यालयमा प्रधानाध्यापक को कुटाइवाट एक बिद्यार्थी घाइते भएका छन् ।

गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय बिद्यार्थी कुशल पौडेल घाइते भएका हुन् ।

कुटाइका कारण कुशलको अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो । अतिरिक्त गणित विषय पढाउने प्रधानाध्यापक गौतमले कुशलले नजानेको निहुँमा बेहोस नहुन्जेलसम्म कुटपिट गरेको शर्माले बताउनुभयो ।

पीडितकी कुशलकी आमा स्वास्थ्यकर्मी भएकाले उनको घरमै उपचार गरेर राखिएको जनाइएको छ । जिल्ला सदरमुकामा रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा कक्षा ७ सम्म अध्ययन गरेका पौडेललाई राम्रो पढाई भएको भन्दै कक्षा ८ मा गणेश माविमा लगिएको थियो ।

शिक्षक विरुद्ध कानूनी उपचार गर्ने बताउँदै पौडेलले कुशल खेलाडी समेत भएकाले सामान्य चोटबाट उनी पीडित नहुनुपर्ने उल्लेख गर्नुभयो । विद्यालयमा कुटपिट भएको विषयमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई समेत सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन तर सोही विद्यालयका एक शिक्षकले भने कुटपिट भएको बताएका छन् ।