क्यान्सर पीडित खड्कालाई बागलुङ समाज पोर्चुगलको सहयोग

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, साउन २१ २០७६

क्यान्सर पीडित सपना खड्का खत्रीलाई बागलुङ समाज पोर्चुगलले ९७ हजार ७ सय ६० रुपैयाँ सहयोग गरेको छ ।

पेटको क्यान्सरको उपचार गराईरहेकी बागलुङ नगरपालिका वडा न. ९ तित्याङकी २५ वर्षीया खड्कालाई पोर्चुगलमा संकलित रकम हस्तान्तरण गरिएको हो ।

बागलुङ समाज पोर्चुगलका अध्यक्ष प्रेम खड्का र सल्लाहकार सूर्य हमालको नेतृत्वमा संकलित रकम तित्याङका वडा अध्यक्ष गणेश थापा र समाजसेवी होमबहादुर हमालले हस्तान्तरण गर्नुभएको हो ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरमा अप्रेसन गराएकी खड्काले सहयोग रकमले आफुलाई औषधी खान सहयोग पुग्ने बताउनुभयो । उपचारमा हालसम्म ९ लाख रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले ऋण, धन र सहयोगको माध्यमबाट उपचार गराउँदै आएको बताइएको छ । औषधी महङ्गो पर्ने भएकोले थप सहयोगको लागि समेत उनले अनुरोध गर्नुभयो ।