मुस्ताङका स्कुलमा भोट भाषा पढाइ सुरु

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
आइतबार, साउन १९ २០७६

मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिकाले चालु शैक्षिक सत्रबाट भोट भाषा शिक्षण सुरु गरेको छ ।
विद्यालयमा स्थानीय भाषा नहुँदा सरकारी स्कुलमा वर्षेनी विद्यार्थी संख्या खस्कँदै गएकाले गाउँपालिकाले यस्तो नीति ल्याएको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक बजेटमै भाषिक शिक्षा उत्थानका लागि बजेट विनियोजन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिनुभयो ।
स्थानीय भोट भाषाको संरक्षण तथा संम्वर्द्धन गर्ने उद्देश्यले यस्तो नीति ल्याएको उहाँले बताउनुभयो । वारागुङ मूक्तिक्षेत्रमा १ मावि सहित १४ सरकारी स्कुल छन् । वारागुङले पहिलो चरणमा ३ विद्यालयमा स्थानीय शिक्षा अनिवार्य गराएको हो ।
गापाले १–१ जना स्थानीय भोट भाषा शिक्षकलाई तलब भत्ता उपलब्ध गराउने गरी कागबेनीको जनशान्ति मावि, जननर्मल छुसाङ र मुक्तिनाथ आधारभुत विद्यालय झारकोटमा उक्त शिक्षा लागु गरेको हो ।
यस्तै वडा नं. १ को लुप्रा आधारभुत विद्यालय लुप्राले पनि निजी श्रोतमै स्थानीय भोट मातृभाषा शिक्षण संञ्चालन गरेको प्रशासकीय अधिकृत रेग्मीले बताउनुभयो । मुस्ताङमा ५४ सरकारी स्कुल, ८ गुम्बा स्कुल र ४ निजी स्कुल छन् । जिल्लामा सरकारीभन्दा गुम्बा र निजी स्कुल राम्ररी फस्टाएको बताइएको छ ।
गुम्बा र निजी स्कुलले भोट मातृभाषा तथा बौद्ध धर्मसहितको शिक्षा दिएकाले सामूदायिक स्कुलमा विद्यार्थी संख्या खस्किएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंकराज बरालले बताउनुभयो ।
अधिकांश बौद्ध धर्मालम्बी तथा जनजातिहरुको बाहुल्यता रहेकाले मुस्ताङमा भाषिक शिक्षाको प्रभाव परेको उहाँको भनाई थियो । उहाँले सरकारी स्कुलमा स्थानीय मातृभाषा लागु गर्न शिक्षक अभाव रहेको बताउनुभयो ।