अख्तियारको छापापछि कस्ले काट्यो स्वास्थ्य कार्यालयमा ताला

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
शनिबार, साउन १८ २០७६

पेश्की फछ्र्यौट गर्ने बाहनामा कर्मचारीबाटै घुस रकम लिँदा लिँदै चार कर्मचारी पक्राउपछि सुनसान बनेको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा फेरी नयाँ तरंग बाहिरीएको छ ।
कार्यालय प्रमुख सहित चार कर्मचारीलाई घुस रकम सहित पक्राउ गरि अख्तियारले नियन्त्रणमा लिएको केही दिनमै स्वास्थ्य कार्यालयमा ‘ताला काटीएको’ बिषयले नयाँ तरंग बाहिर आएको हो ।
अख्तियारको स्ट्रिङ्ग अप्रेशनपछि ताला लगाईएको प्रशासन अधिकृतको कार्यकक्षको ताला संकास्पद तवरले फोरिएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको छ । कार्यालयका तथ्यांक अधिकृत मेगनाथ रेग्मीले प्रशासन अधिकृतको कार्यकक्षमा चापी काटेपछि कागजपत्र तलमाथि बनाएको हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयलमा उजुरी परेको हो ।
रेग्मीले कसैलाई जानकारी नदिईकन ताला काटेर नयाँ ताला लगाएको भेटिएको छ । शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीको नेतृत्वमा गएको निरिक्षण टोलिले संकास्पद तवरले कार्यकक्षको ताला काटिएको बिषयमा स्थलगत निरिक्षण गरि मुचुल्का समेत तयार गरेको छ ।


निरिक्षण टोली समक्ष तथ्याङ्क अधिकृत रेग्मीले आफुले कार्यालयको छाप प्रयोजनको लागि ताला काटेको स्विकार गर्नु भएको छ । सहायक प्रजिअ सुवेदीका अनुसार, तथ्याङ्क अधिकृत रेग्मीले चापी काटेको स्विकार गर्दै प्रशासन कार्यकक्षबाट छापमात्र निकालेको बयान दिनु भएको छ ।
रेग्मीले लगाएको नयाँ तालाको चापि अनुगमनमा पुगेको जिल्ला प्रशासन कार्यालयको टोलिले नियन्त्रणमा लिएको छ । गत साउन १२ गते पेश्की पछ्र्यौट गरिदिने भन्दै कार्यालयकै कर्मचारीबाट १ लाख ३० हजार घुस लिएको अबस्थामा अख्तियारले स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीम प्रसाद आचार्य, अधिकृत रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसीलाई नियन्त्रणमा लिएको थियो ।
स्वास्थ्य कार्यालयको घुसकाण्ड पछि कर्मचारीबाटै पुनः संकास्पद तवरले ताला फोरेको नयाँ काण्डले स्वास्थ्य कार्यालयभित्रको व्यतिथिबारे नयाँ तरंग ल्याईदिएको छ । अख्तियारको छापा पछि बन्द गरीएको कार्यकक्षमा अन्य कर्मचारीको मिलमतोमा ताला फोरेर कागजपत्रलाई तलमाथि बनाउन खोजिएको आसंका गरिएको छ ।
कार्यालय प्रमुख आचार्यको कार्याकक्ष खोलेको र प्रशासन अधिकृत रघुनाथ रेग्मीको कार्याकक्षमा ताला काटेर महत्वपुर्ण कागजपत्र निकालेको भन्दै कार्यालयकै अन्य कर्मचारीबाट प्रशासनमा उजुरी परेको थियो ।