पशु विज्ञान विषयमा विद्यार्थीको आकर्षण बढ्दो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, साउन ११ २០७६

बागलुङका दुई विद्यालयमा यस वर्षदेखि प्राविधिक धार तर्फको पशु विज्ञान पढाई सुरु भएपछि बिद्यार्थीको आकर्षण बढेको छ ।

जिल्लाको निसीखोला गाउँपालिकाको निसी स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालय र ताराखोला गाउँपालिकाको नेपाल मावि तारामा पशु विज्ञान पढाइ सुरु गरिएपछि बिद्यार्थीहरुको पनि आकर्षण बढेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक प्रविधि शाखा, सानोठिमी भक्तपुरले बागलुङका दुई विद्यालयलाई कक्षा ९ मा पशु विज्ञान अध्यापनका लागि यस शैक्षिक शत्रमा अनुमति दिएको थियो ।

व्यावहारिक तथा प्रयोगात्मक शैक्षिक विकासले जनशक्ति प्रविधिमुखी बन्ने र रोजगारका लागि समेत सहज हुने भएकाले यस तर्फ विद्यार्थीको आकर्षण बढेको नेपाल माविका व्यवस्थापन समिति अध्यक्ष दिवस खत्री (पदम)ले बताउनुभयो । साधारण तर्फ २५÷२६ जना विद्यार्थी रहेको तर पशु विज्ञान तर्फ ४२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक थम प्रसाद रोकाले बताउनुभयो ।

पहिलो वर्ष कक्षा नौंबाट प्राविधिक धार तर्फको पशु विज्ञान सुरु गरिएको र विद्यार्थीको आकर्षण पनि राम्रो भएकोले यसलाई आगामी दिनमा निरन्तर सञ्चालन गर्दै कक्षा १२ सम्मको अनुमति लिएर कक्षा सञ्चालन गर्दै जाने योजना रहेको अध्यक्ष खत्रीको भनाई रहेको छ । नेपाल माविमा विराटनगरबाट डा.आवास श्रेष्ठ र आए. एसए. एजी. पुजा घिमिरेले अध्यापन गराइरहेको नेपाल माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष खत्रीले जानाकारी दिनुभयो ।

निसीमा रहेको ज्ञानेन्द्र माविका सञ्चालन भएको पशु विज्ञान तर्फको कक्षामा अहिले ४५ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयक प्रधानाध्यापक अमृता बुढा मगरले बताउनुभयो । आसपासका विद्यालयबाटमात्र नभई ढोरपाटन नगरपालिकाको अर्नाकोट र निसीखोला कै देविस्थान बायखोलादेखि निसीमा पशु विज्ञान कक्षाको पढाईमा विद्यार्थी आएको प्रधानाध्यापक बुढा मगरको भनाई छ ।

प्राविधिक शिक्षा भएकाले पठनपाठनको व्यवस्थापन मिलाउन केही कठिन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम घर्ती मगरले बताउनुभयो । निसीको ज्ञानेन्द्र माविमा भैरहवाबाट डा. सुवास बेलवासे र दाङबाट आइ एस एएजी सुजाता शर्माले अध्यापन गर्नु भएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहँदा ताराखोलाको नेपाल माविमा ४ सय ९१ जना विद्यार्थी छन भने निसीखोलाको ज्ञानेन्द्र माविमा ७ सय १५ विद्यार्थी संख्या अहिले अध्यनरत रहेको विद्यालयले जनाएको छ ।

ताराखोलाको नेपाल माविले गत फागुनमा स्वर्ण महोत्सवका अवसरमा प्राविधिक सञ्चालनका लागि आर्थिक सहयोग अभियानबाट डेढ करोड रुपैयाँ सङ्कलन गरेको छ भने निसीको ज्ञानेन्द्र माविले प्राविधिक शिक्षा सञ्चालन गर्ने भन्दै देउसी भैलो अभियान र चन्दा सहयोग जुटाएको हो ।