पहिराको त्रासमा विद्यालय

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, साउन ९ २០७६

वर्षासँगै खसेको पहिरोले बागलुङको गलकोट नगरपालिका–९ बाङ्गेसल्ला स्थित नवदीप आधारभूत विद्यालयको भवन चर्किएको छ ।

पहिरोले बिद्यालयको भवन चर्किनुका साथै कक्षा कोठाभित्र ढुङ्गा सहितको लेदो पसेको बिद्यालयका प्रधानाध्यापक वसन्ती फुल्देलले बताउनुभयो । पहिरोको त्रासले पठनपाठनसमेत प्रभावित बनेको उहाँको भनाई छ ।

पठनपाठन व्यवस्थित गर्न विद्यालय प्रशासन र व्यवस्थापन समितिबीच छलफल चलिरहेको जानकारी दिदै प्रधानाध्यापक फुल्देलले रातो माटो र भिरालो जमीन भएका कारण विद्यालयमा पहिरोको जोखिम बढेको बताउनुभयो ।

विद्यालय परिसरमा जम्मा हुने आकाशे पानीको समेत उचित निकास नभएको र विद्यालय तलपट्टिको ‘ग्याबिन’ जालीमा समेत पहिरोले असर पु¥याएको बताइएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयको सहयोगमा बनेको दुई कोठे पक्की भवन पहिरोको जोखिममा परेपछि स्थानियवासी चिन्तित भएका छन् ।

पुरानो चार कोठे भवन जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै वडाध्यक्ष तेजबहादुर थापाले विद्यालयको समस्याबारे नगरको शिक्षा शाखामा जानकारी गराइएको बताउनुभयो । उहाँले जोखिमकै अवस्थामा बालबालिकालाई पठनपाठन गराउन नहुने उल्लेख गर्नुभयो । तत्कालका लागि पुरानै जीर्ण भवनमा राखेर भए पनि बालबालिकाको पढाइ नियमित गर्ने योजनामा विद्यालय रहेको बताइएको छ ।

कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा विद्यार्थी सङ्ख्या भने न्यून छ । अविरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरो निम्ताएको छ । मध्य पहाडी लोकमार्गका विभिन्न स्थानमा गएका पहिराले सवारी आवागमन प्रभावित बनेको छ ।