सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, असार १८ २០७६

बागलुङको ढोरपाटन नगरपालिकाका एक सुत्केरी आमा र बच्चाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
ढोरपाटन नगरपालिका वडा नम्बर ९ मर्माका टेक बहादुर विककी श्रीमती कोपिला विकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया मार्फत प्रसुति गराइए पनि बच्चा र आमा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टर चार्टर गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको हो ।
२१ वर्षिय विकको नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीको पहलमा हेलिकप्टर मार्फत उद्धार गर्न सफल भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव तथा ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक ऋतुवर्ण पौडेलले जानकारी दिनुभयो ।
सुत्केरी व्यथा लागेर प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकी विकको भिडियो एक्सरे गरी हेर्दा गर्भमा रहेको बच्चाको मुटुको धड्कन निकै कम देखिएकाले तत्काल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरी प्रशुती गराउन सफल भए पनि बच्चाको स्वास्थ्यमा सुधार नभएपछि रिफर गर्नु परेको स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. कृष्ण हरी श्रेष्ठले जानकारी दिनुभयो ।
बच्चालाई एन.आई.सी.यू.को आवश्यकता भएको र धेरै रक्तश्रावका कारण आमाको स्वास्थ्य अवस्थामा पनि समस्या देखिएकाले स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएको उहाँको भनाई छ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालले सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरामा विशेष पहल गरेपछि थप उपचारका लागि आकस्मीक उद्धार गर्न सम्भव भएको डाक्टर श्रेष्ठले बताउनुभयो ।
दिउँसो करिब ४ बजेको समयमा प्रभु कम्पनीको हेलीकप्टर मार्फत उद्धार गरिएको थियो । नगर प्रमुख नेपालीले उपचारमा सहयोग पु¥याउने उद्धेश्यले नगद रकम सहयोग समेत गर्नुभएको बताइएको छ ।
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराले सुत्केरी आमा र बच्चाको लागि निःशुल्क हेलिकप्टर चार्टरको व्यवस्था मिलाएको हो । अहिले आमा र बच्चालाई पोखरा स्थीत पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा भर्ना गरिसकिएको र थप उपचार भैरहेको विरामीका साथमा जानुभएका डा. दिलिप कोजुले जानकारी दिनुभयो ।