बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल १५ दिन पछि संचालनमा

/ प्रकाशित मिति :
सोमबार, असोज २६ २០८३

बागलुङ, २६ असोज – बागलुङ र पर्वतको लाईफलाईन मानिएको मालढुङ्गा स्थित काली गण्डकी नदीको पुल मर्मत पछि संचालनमा आएको छ । सोमबार मर्मत कार्य सकिएसंगै असोज ११ गते देखी अवरुद्ध पुल संचालनमा आएको हो ।

बर्षा संगै आएको बाढिले पुल बग्दा बागलुङ जिल्लाबाट पोखरा, पर्वत लगायत राजधानी सम्म सिधा सवारी आवागमन रोकिएको थियो ।सोमबार बिहान ११ बजे पहिलो चरणको मर्मत पुरा भइ सडक संचालनमा आएपछि दोहोरो सवारी चल्न थालेका छन ।

१५ दिनदेखि सडक डिभिजन कार्यालय पोखरा, नेपाली सेना, स्थानीयबासी र बागलुङ तथा पर्वतको बिपत व्यवस्थापन समितिले निरन्तर काम गर्दा यो सफलता मिलेको बरिष्ठ डिभिजन इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

आवागमन नै बन्द भएको र चाडपर्व आएकोले तत्काल खुलाउने दवाका बीच सोमबार सवारी चलाइएको हो । पानीको सतहदेखि २४ मीटर अगलो पर्खाल लगाएर पुलको सतहमा बाटो ल्याइएको हो । पुल संचालनमा आएपनि काम भने धेरै बाँकी रहेको डिभिजन इन्जिनियर अधिकारीले जानकारी दिनुभयो । पुलको दिगो व्यवस्थापनमा भने तिहार पछि काम गरिने उहाँले बताउनुभयो ।

क्षेती भएको पुला तर्फ ग्याबिन जाली सहितको पर्खालमा चिप्स भरेका बोरा, रबरका खोल समेत राखेर पहिरो नखस्ने बनाइएको छ । पहिलेकै अबस्थामा ल्याउन पानीको सतह अझै घटेपछि सुरक्षित पर्खाल लगाएर पुलकै पिलरमा बगेको पानी हटाउनुपर्ने सढक डिभिजन कार्यालयले जनाएको छ । पहिलो चरणमा झण्डै २ करोड खर्च अनुमान गरिएपनि डिभिजनले हिवाव सार्वजनिक गरेको छैन । सडक डिभिजन कार्यालय पोखरा मार्फत यो काम भएको हो ।

सोमबार जिल्लाका प्रशासक तथा जनप्रतिनिधि समेत मालढुंगा पुगेर सवारीलाइ स्वागत गरेका थिए भने बागलुङ नगरपालिकाले निर्माणमा खटिएको टोली, सघाएको नेपाली सेना र स्थानीय प्रहरीलाई सम्मान गरेको थियो ।