बागलुङका बाढीपहिरो पीडितलाई एनआरएनएको १२ लाखको राहत

/ प्रकाशित मिति :
आइतबार, असोज १८ २០८३

बागलुङ, १८ असोज – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बागलुङको निसीखोला र ताराखोलाका बाढीपहिरो पीडितलाई १२ लाख रुपियाँ बराबरको राहत सामग्री सहयोग गरेको छ ।

एनआरएनएले निसीखोला गाउँपालिकाका बाढीपहिरो पीडितलाई सात लाख र ताराखोलाका बाढीपहिरो प्रभावित परिवारलाई पाँच लाख रुपियाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा आवश्यक सामग्री जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराएको एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

निसीखोला गाउँपालिका–३, ४ र ५ का ६८ बाढीपहिरो प्रभावित घरपरिवारलाई करिब सात लाख रुपियाँ बराबरको चामल, दाल, तेल, चिउरा, सोयाबिन, आलु, चाउचाउ र चिनी प्रदान गरिएको हो । यस्तै, ताराखोला गाउँपालिकाका बाढीपहिरो प्रभावितका लागि पाँच लाख रुपियाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा अत्यावश्यक राहत सामग्री उपलब्ध गराइएको सापकोटाले बताउनुभयो ।

प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालय मार्फत वितरण गर्ने गरी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई राहत सामग्री हस्तान्तरण गरिएको थियो । लत्ता कपडासँगै पावरबैंक, टर्चलाइट लगायत अत्यावश्यक विद्युतीय सामग्री समेत प्रदान गरिएको छ । एनआरएनएका प्रवक्ता सापकोटाले प्रमुख जिल्ला अधिकारी आचार्यलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो ।