मुक्तिहरि राधाकृष्ण मन्दिर गलेश्वरधाममा १ महिने हरि संकिर्तन महोत्सव तथा महायज्ञ

/ प्रकाशित मिति :
सोमबार, जेष्ठ ४ २០८३

बागलुङ,जेष्ठ ४ – म्याग्दीको बेनि गरपालिका स्थित श्री मुक्तिहरि राधाकृष्ण मन्दिर गलेश्वरधाममा हरिनाम संर्कीतन महोत्सव तथा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ शुरु भएको छ ।

जेष्ठ महिनाको मलमास तथा अधिकमासको अवसर पारेर १ महिने हरिनाम संकिर्तन तथा यहि जेष्ठ ११ गते सम्मका लागि श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ प्रारम्भ गरिएको आयोजक समितिले जनाएको छ ।

मलमास अर्थात पुरुषोत्तम महिनाका अवसरमा हरिनाम संर्कीतन महोत्सव तथा महायज्ञ संचालन गरिएको राधाकृष्ण मन्दिरका संरक्षक तथा बागलुङ नगरपालिका – ४ कुडुले फेदी स्थित शालग्राम संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

धार्मिक तथा पर्यटकिय महत्व बोकेको यस मन्दिरमा भारतको बिहार दिल्ली स्थित टेकरिवाल परिवारको समन्वय र सहकार्यमा महोत्सव तथा महायज्ञ संचालन गरिएको उहाँले जानकारी दिनुभयो । महायज्ञको प्रमुख कथा वाचकको रुपमा भारतको उत्तर प्रदेश बाट आउनु भएका जगदगुरु रामानुजाचार्य स्वामी राजनारायणाचार्य र स्वामी ऋषि प्रपन्नाचार्य लगायत रहनुहुने आयोजकले जनाएका छन ।

मलमास तथा पुरुषोक्तम महिना लाई भगवान बिष्णुको महिना मानिने हुँदा यस अवधीमा गरिने यज्ञ, ध्यान, साधना,जपतपको बिशेष महत्व हुने भएकाले विभिन्न धार्मिक अनुष्ठान शुरु गरिएको स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । सो अवसरमा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले राधाकृष्ण मुक्तिहरि राधाकृष्ण मन्दिर र यहाँ हुने गतिविधीले गलेश्वरको सौन्दर्यता लाई थप बलियो बनाएको बताउनुभयो ।

गलेश्वरधाम मुलुककै प्रमुख पर्यटकिय गन्तव्य तथा प्रमुख धार्मिक तिर्थस्थल भएकाले गलेश्वरको विकाश र प्रवद्धनका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । महायज्ञको पहिलो दिन आईतबार सयौ भक्तजनको सहभागितामा गलेश्वरधाम परिसर भजनकीर्तन सहित परिक्रमा गरिएको थियो ।