जंगली भ्याकुर खाँदा बडिगाडमा एक जनाको मृत्यु ,आठ जना बिरामी

/ प्रकाशित मिति :
सोमबार, जेष्ठ ४ २០८३

बागलुङ, ४ जेष्ठ – जंगली भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन् ।
घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका वडा नं. ५ दाग घर भई खार बजार बस्ने ७२ वर्षिय फिरम कुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक मानन्धरका अनुसार, दिर्घरोगी घिमिरेको घरमै ज्यान गएको हो भने अन्य आठ जना भ्याकुर खाएपछि बिरामी परेका छन् ।
बिरामी हुनेहरु बडिगाड गाउँपालिका–५ खारका ५५ वर्षिय दुरपती कामी, ५५ वर्षिय विष्णु घिमिरे, २३ वर्षिय शारदा न्यौपाने, ४३ वर्षिय सुरेन्द्र विक, ६३ वर्षिय भोजराज घिमिरे, ६२ वर्षिय पुतली घिमिरे, ६५ वर्षिय खिमानन्द घिमिरे र १४ वर्षिय अबिसन घिमिरे रहेका छन् । बिरामीमध्ये दुरपती कामीको अवस्था गंभीर रहेको मानन्धरले जानकारी दिनुभयो ।

बिरामी सबैको अहिले बुर्तिबाङ जिल्ला अस्पतालमा उपचार चलिरहेको र एक जनाको अवस्था जटिल रहेको अस्पतालका सुचना अधिकारी पार्वती अर्यालले जानकारी दिनुभयो । सूचना अधिकारी अर्यालयका अनुसार, बिरामीहरु चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र वान्ता हुने लक्षणहरु देखिएको छ ।

नियमित जस्तै उनीहरु आइतबार पनि जंगलमा निगुरो टिप्न गएको र खाजामा दिउँसो जंगलबाट ल्याएको भ्याकुर खाएपछि बिरामी परेको स्थानियले बताएका छन् ।