बागलुङका सेवाग्राहीको घरदैलोमै राहदानी

/ प्रकाशित मिति :
बिहिबार, बैशाख २४ २០८३

बैशाख २४ २०८३,

बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङले बुधबारदेखि सेवाग्राहीको घरदैलोमा राहदानी पु¥याउन सुरु गरेको छ । प्रशासनले जिल्ला हुलाक कार्यालयसंग सहमति गरेर सेवाग्राहीको घरदैलोमा राहदानी पु¥याउन थालेको हो ।

सेवाग्राहीको ठेगानासहित जिल्ला प्रशासनले हुलाक कार्यालयलाई राहदानी उपलब्ध गराउने र हुलाकले सेवाग्राहीको घरदैलोमा राहदानी हस्तान्तरण गरेर सम्बन्धित व्यक्तिले प्राप्त गरेको प्रमाण प्रशासनलाई उपलब्ध गराउने सहमति भएको छ ।

पहिलो दिन ५ जना सेवाग्राहीको राहदानी हुलाकमार्फत पठाइएको छ । नेपाल सरकारको शासकीय सुधार कार्ययोजनाअन्तर्गत नागरिकको सहजताका लागि राहदानी घरमै पुर्याउन थालिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।

सेवाग्राहीको ठेगानामा राहदानी पठाउनु पूर्व सम्बन्धित व्यक्तिलाई फोनमार्फत सम्पर्क गरेर घरमै पठाउने वा नपठाउने विषयमा एकिन गरिने छ । ‘‘घरदैलो सेवाले प्रशासनमै धाउननुपर्ने बाध्यताको अन्त्य भएपनि राहदानी जस्तो संवेदनशील कागजात सेवाग्राहीको अनुमति बिना घरघरमा पठाउन भने सकिदैन’’ प्रजिअ आचार्यले भने ।

‘‘केही सेवाग्राहीले सदरमुकाममै रहेको, केहीले पोखरा, काठमाडौं र बुटवलमा रहेको जनाएका छन् । उनीहरुले चाहेकै ठेगानामा राहदानी पठाउँछौं’’ आचार्यले भने । केहीले भने प्रशासनबाटै राहदानी लिने जानकारी गराएको प्रजिअ आचार्यले बताए । प्रशासनले बुधबार ५ जना सेवाग्राहीको राहदानी पठाएर घरदैलो सेवाको प्रारम्भ गरेको छ ।

नेपाल सरकार १ सय दिने कार्ययोजनाअन्तर्गत हुलाक कार्यालयलाई सरकारी कुरियरको रुपमा विकास गर्ने कार्ययोजना अनुसार घर–घरमा राहदानी पु¥याउने कार्यको थालनी भएको जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख विष्णु प्रसाद शर्माले जानकारी दिए ।