पर्यटकिय स्थल संसारकोटमा भगवती मन्दिरको उद्घाटन सहित मुर्ती प्रतिस्थापन

/ प्रकाशित मिति :
शनिबार, चैत्र ७ २០८२

बागलुङ, ७ चैत्र – बागलुङ नगरपालिका ७ स्थित पर्यटकिय स्थल संसारकोटमा चैते दशैको नवरात्रको अवसर पारेर भगवती मन्दिरको उद्घाटन सहित मुर्ती स्थापना गरिएको छ ।

२०७४ शालमा स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा निर्मित मन्दिरको उद्घाटन तथा भगवती माताको मुर्ती प्रतिस्थापन गरिएको संसारकोट मन्दिर संरक्षण समितिका अध्यक्ष केशव कार्कीले जानकारी दिनुभयो । उहाँका अनुुसार हालसम्म धार्मिक तथा पर्यटकिय संरचना निर्माणका लागि १ करोड २५ लाख बढि खर्च भईसकेको छ । धार्मिक संरचना निर्माणका लागि बागलुङ नगरपालिका लगायत नेपाल सरकारको पर्यटन मन्त्रालयले ३६ लाख सहयोग गरेको कार्कीले बताउनुभयो ।

मुर्ती तिरुपती बालाजी धाम मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्रहालय कुँडुले फेदीमा पुजा अर्चना गरी संसारकोटमा लगेर एक समारोहका बिच प्रतिस्थापन गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

मुर्तिको प्रतिस्थापन गर्दै शालग्राम संग्रहालय कुँडुले फेदीका संरक्षक स्वामी ऋषि प्रपन्न्नाचार्यले धार्मिक पर्यटकको संख्यामा वृद्धि गर्नका लागि भगवती माताको मन्दिरले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । कालिगण्डकीको सभ्यता, शालग्रामको संरक्षण गर्दै यहाँका धार्मिक धरोहरको संरक्षण र विकाश गर्नु सबैको साझा दायित्व बन्ने स्वामी प्रन्नाचार्यले बताउनुभयो ।

सो अवसरमा बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले बागलुङका धार्मिक पर्यटकिय स्थलको विकाश र प्रवद्धनका लागि तिनै तहको ध्यान जानुपर्ने बताउनुभयो । सो अवसरमा आचार्य कश्यप सुर्दशनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।