बुर्तिवाङ अस्पतालमा रक्तसञ्चार अभाव

/ प्रकाशित मिति :
शनिबार, फाल्गुन १६ २០८२

बागलुङ १६ फागुन–बागलुङ जिल्लाको पश्चिम बुर्तिवाङ स्थित बुर्तिबाङ अस्पतालमा रक्तसञ्चारको अभाव देखिएको छ ।
गत वर्ष उद्घाटन भएर संचालनमा आएको बुर्तिवाङ अस्पतालमा दर्जनौ सेवा थपिएको भएपनि विद्युतको दिगो सेवा र रक्तसञ्चार सेवाको अभाव देखिएको हो ।

पश्चिम बागलुङका तीन गाउँपालिका र एक नगरपालिकाको केन्द्र तथा रुकुम र पश्चिम क्षेत्रका अन्य जिल्लाले समेत सेवा लिने यो अस्पतालमा रक्तसंचार सेवा नहुँदा प्रभावकारी बन्न नसकेको हो ।

विशेष गरी सडक दुर्घटनाका बिरामी धेरै आउने, धेरै जनसंख्याले उपचार लिने स्थान भएर पनि जनशक्ति पर्याप्त नभएको र अपरेसनका लागि चाहिने अन्य पाटो कमजोर हुँदा भएको जनशक्तिले पनि सेवा दिन नसकेको अस्पतालका प्रमुख डाक्टर अविनाश पोखरेलले बताउनुभयो ।

अस्पतालमा तीन डाक्टर रहेको जानकारी दिदै उहाँले बढी आवश्यक पर्ने स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी लगायतको सेवामा जनशक्ति अभाव देखिएको बताउनुभयो । अस्पतालले आन्तरिक व्यवस्थापन गरेर वार्ड भने आफैं बनाएको छ । स्वास्थ्यकर्मीको आवास हटाएर वार्ड बनाइएको उहाँको भनाई थियो । २ वटा भेन्टिलेटर, क्याबिन र बालवार्ड समेत बनाउन लागिएको सिनियर नर्स पार्वती अर्यालले बताउनुभयो ।

अस्पतालले शिशुलाई जन्डिसबाट बचाउन फोटो थेरापी सेवा पनि संचालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा फेयरमेड फाउन्डेसन र गण्डकी प्रदेश सरकारको सहयोगमा सुविधासम्पन्न ल्याब भने बनेको छ ।