लोकमार्गको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी

/ प्रकाशित मिति :
सोमबार, माघ २០ २០८२

बागलुङ १९ माघ – लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ ।
दुई वर्षमा कालोपत्र सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको सडक सम्पन्न नभएपछि पुनः ठेक्का लगाउने तयारी गरिएको हो ।

नौ वर्षमा पाँचपटक म्याद थप्दा पनि नसकिएको सडकको ठेक्का रद्द गरेर पुनः ठेक्काका लागि अन्तिम मूल्यांकनमा रहेको पर्वत स्थित मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायीले चरम लापरवाही गरेका कारण उक्त ठेक्का २०८२ पुस १७ गते तोडेर अन्तिम मूल्यांकनको काम भइरहेको इन्जिनियर कल्पना मिश्रले जानकारी दिनुभयो । मिश्रका अनुसार निर्माण व्यवसायीले गरेको हालसम्मको ८० प्रतिशत प्रगतिमध्ये भुक्तानी दिन बाँकी र क्षति पुगेको पूर्वाधारको मूल्यांकन भइरहेको छ ।

ठेक्का रद्दको लामो प्रक्रिया रहेको र अर्थ मन्त्रालयले स्वीकृति छिटो दिएमा एक वर्षभित्रमा नयाँ ठेकेदार आउने उहाँको भनाई थियो । अहिले अन्तिम मूल्यांकन भइरहेको जानकारी दिदै उहाँले मूल्यांकनमा निर्माण व्यवसायीलाई दिन बाँकी बिल भए दिने र आयोजनाले लिन पर्ने भए लिने गरी टुंग्याइने बताउनुभयो ।

पहिलो ठेकेदारसँग हिसाब मिलान भएपनि अहिलेको मूल्यका आधारमा बाँकी कामको लागत अनुमान गरेर अर्थ मन्त्रालयमा पठाइने र अर्थले स्वीकृत गरेपछि नयाँ ठेक्का खुल्ने उहाँले जानकारी दिनुभयो ।

बागलुङ–बिहुँ खण्डको १३ किलोमिटर सडक २०७३ साल माघ १४ गते भारत÷सिद्धिसाइसँग दुई वर्षमा सक्ने गरी ४३ करोड ६५ लाखमा सम्झौता भएको थियो । निर्माण व्यवसायीले १३ मध्ये छ किलोमीटर सडक कालोपत्र गरेर अलपत्र पारेपछि स्थानीयको आन्दोलनपछि ठेक्का रद्द गरिएको हो । कालोपत्र गरेको सडक पनि उप्किएर बिग्रिएको छ ।