बागलुङका ५५ मतदानस्थल अति संवेदनशिल

/ प्रकाशित मिति :
शनिबार, माघ ११ २០८२

 

बागलुङ, १० माघ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मतदानस्थल अति संवेदनशिल रहेको पाइएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा रहेका १ सय ७ मतदानस्थल मध्ये जिल्ला सुरक्षा समितिले गरेको अनुगमनका आधारमा ५५ मतदानस्थल अति संवेदनशील रहेको पाइएको हो ।

१ सय ७ मतदानस्थलमध्ये ५५ अति संवेदनशील, २४ संवेदनशिल र २८ सामान्य रहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । बागलुङमा १ सय ७ मतदानस्थल र २ सय ३० मतदान केन्द्र कायम गरिएको छ ।

जसमध्ये सुरक्षा संवेदनशिलता, मतदाताको सङ्ख्या, भौगोलिक विकटता, सडकको पहुँच, मतदानस्थलको पूर्वाधार र यस अघिका निर्वाचनको गतिविधिका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थललाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइने गरेको आचार्यले जानकारी दिनुभयो ।

भौगोलिक विकटता, दलीय अस्वस्थ्य प्रतिस्पर्धा, दलीय विभाजनको वैमनस्यता, सरकार विरोधी शक्तिका गतिविधि र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको आचार्यले बताउनुभयो । निर्वाचनको समयमा सर्वसाधारणलाई असुरक्षित महसुस हुन नदिन जिल्ला सुरक्षा समिति र जिल्लाका सुरक्षा निकायले सबै खाले तयारी गरिरहेको उहाँको भनाइ रहेको थियो ।