समानुपातिक प्रणालीतर्फ ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने

/ प्रकाशित मिति :
बिहिबार, मंसिर १९ २០८२

बागलुङ, १८ मंसिर – निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ कम्तिमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा २८ मा दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्दा कूल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने व्यवस्था छ ।

समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा भाग लिन चाहने दलले आफ्नो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवारको बन्दसूची तयार गर्नु पर्नेछ ।‘दलले उम्मेदवारको बन्दसूची तयार गर्दा कूल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने छ’ प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा २८ को उपदफा ३ मा उल्लेख छ ।

संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरे पनि निर्वाचन कानुनले संविधानको सो मर्म आत्मसात् नगरेको भन्दै कानुन संशोधनको माग उठ्दै आएको थियो ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको निर्वाचन कार्यक्रम यही मंसिर २१ गतेदेखि सुरु हुँदैछ ।

निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरुले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्नेछन् । प्राप्त निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने तालिका छ ।प्रत्यक्षतर्फ भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयनको गर्ने कार्यतालिका रहेको छ ।

विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ ।
प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने कानूनी व्यवस्था रहेको छ ।
उम्मेदवारको बन्दसूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई जनसङ्ख्याको आधारमा उल्लेख भए बमोजिम दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम समेतको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्त बमोजिम तयार गर्नुपर्ने हुन्छ ।