पर्वतमा अस्ट्रेलियाबाट घुम्न आएका पर्यटकको पासपोर्ट बादरले लग्यो

/ प्रकाशित मिति :
आइतबार, असोज २६ २០८२

बागलुङ, २६ अशोज – नेपाल घुम्न आएका पर्यटकको पासपोर्ट बाँदरले लगेको छ । पासपोर्ट बाँदरले लगेको जानकारी गराएपछि खोजीका लागि प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरी प्रमुख डीएसपी विजय यादवका अनुसार अस्ट्रेलियाबाट नेपाल घुम्न आएका पर्यटकको पासपोर्ट पर्वतको बन्जी जम्प नजिकबाट बाँदरले लिएर भिरतिर भागेको हो । अस्ट्रेलियन नागरिकसहित नेपालकै अर्का एक पर्यटकको पनि सोही झोलामा रहेको पासपोर्ट बाँदरले लगेको छ ।

प्रहरीका अनुसार शनिबार मुक्तिनाथ जान निस्किएका उनीहरूको पासपोर्ट कुस्मामा बन्जी घुम्न गएको बेलामा झोला गाडीको छतमा राखिएको थियो । उनीहरू बन्जीबाट फर्किँदा उक्त झोला बाँदरले लगेको उनीहरूले जानकारी प्रहरीलाई गराएका थिए ।

खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । उक्त पासपोर्टसहितको झोला नभेटिएपछि उनीहरूले प्रहरीमा निवेदन समेत दर्ता गरेका छन् । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।