डा. तरुण पौडेल चिकित्सा कोष बाट स्वास्थ्यकर्मी र सामाजिक अगुवा सम्मानित

/ प्रकाशित मिति :
शनिबार, असोज २५ २០८२

बागलुङ, अशोज २५ – मानवीय क्षेत्रमा सक्रिय स्वास्थ्यकर्मी र सामाजिक अगुवा गरी आठ जनालाई डा. तरुण पौडेल चिकित्सा कोषले सम्मान गरेको छ । डा. तरुण पौडेल चिकित्सा कोषले ग्रामीण क्षेत्रमा बसेर उपचारमा संलग्नदेखि मानव अङ्ग प्रत्यारोपण गर्ने चिकित्सक सम्मलाई सम्मान गरेको हो । कोषको १३ औं वार्षिकोत्सव सम्पन्न गरिनुको साथै १० औं पुरस्कार सम्मान अर्पण र इन्द्रलक्ष्मी स्मृति पुरस्कार पनि समर्पण गरिएको हो ।

सम्मानित हुनेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रको संस्थापक भएर राज्यलाई नै योगदान गर्नुभएका डा. पुकारचन्द्र श्रेष्ठ, शिशु जन्मदा नरोएपछि ६ घण्टाभन्दा बढी समयसम्म कृतिम श्वास दिएर बचाउनुभएकी बैतडीकी अनमी जानकी पुजारा, पोखरामा कार्यरत सिनियर अहेब जयप्रसाश कोइरी, बालबालिकाको हितमा क्रियाशिल बुटवलका अनुपमान सैजु र सर्वस्व दान गरेर अस्पतालमा बस्ने पोखरा लेखनाथका दम्पत्ति रेवतीरमण पौडेल र शान्ति पौडेल रहेका छन् ।

सम्मानित सबै लाई बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, कोषका संरक्षक प्राडा. तरुण पौडेल र कोषका अध्यक्ष काजी रोशनले जनही नगद १५ हजार सहित सम्मान पत्र र दोशल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।यस्तै कोषले ल्याब असिस्टेन्ट र अहेबको परीक्षामा उत्कृष्ट हुनुभएका धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानका मौषम थापा र सुरेश पौडेललाई पनि पाँच, पाँच हजार नगद पुरस्कार सहित सम्मान गरेको छ ।

२०७० सालदेखि कोषले ग्रामीण क्षेत्रमा बसेर योगदान गर्ने चिकित्सक, अहेब र अनमीलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ । धौलागिरि अस्पतालमा १६ वर्षसम्म प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट भइसक्नुभएका प्रा.डा. तरुण पौडेलले उक्त कोष स्थापना गर्नुभएको हो । कोषले स्वतन्त्र रूपमा क्रियाशिल र सेवामा लागेकाहरूको खोजी गरेर पुरस्कृत र सम्मानित गर्दै आएको कोषका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।

सो अवसरमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, पुरस्कृत व्याक्तित्व डा. पुकारचन्द्र श्रेष्ठ, जानकी पुजाराले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम बारे कोषका सदस्य राम प्रसाद खनालले जानकारी गराउनुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष साहित्यकार काजिरोशनको अध्यक्षता, सदस्य केबी रानामगरको स्वागत, कोषका संरक्षक प्राडा. तरुण पौडेलको धन्यवाद र शकुन्तला शर्माको संचालनमा सम्पन्न भएको थियो।