नेपाल बैङ्क लिमिटेड बागलुङमा सुकिला नोट साट्नेको घुईचो

/ प्रकाशित मिति :
शुक्रबार, असोज १០ २០८२

बागलुङ, १० अशोज – दसैँलाई लक्षित गरी नेपाल बैङ्क लिमिटेड बागलुङले खुद्रा नोट साट्न सुरु गरेको छ । सर्वसाधारणका लागि बैङ्कले सुकिला नोट साट्नेगरी व्यवस्था मिलाएको हो ।

विजयादशमीको दिन टीका लगाएपछि आफन्तलाई दक्षिणास्वरुप प्रदान गरिने खुद्रा नोट साट्नका लागि सर्वसाधारणको बैङ्कमा घुइँचो लाग्न थालेको छ । सर्वसाधारणले लाइनमा बसेर ५, १०, २०, ५० र १ सय रुपियाँका सुकिला खुद्रा नोट साट्न शुरु गरेको बैङ्कले जनाएको छ ।
सुकिला नोट साट्न गाउँ गाउँबाट सर्वसाधारणहरु बैङ्कमा आएका छन् । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपियाँसम्मका नयाँ सुकिला नोट साट्ने गरी व्यवस्था मिलाइएको नेपाल बैङ्क लिमिटेड बागलुङका प्रमुख कृष्णबहादुर कुवँरले बताउनुभयो ।

दसैँका लागि ४५ करोड रुपियाँका नयाँ र सुकिला नोट राखिएको र आवश्यक अनुसार अन्य रकम राष्ट्र बैङ्कबाट ल्याउने कुवँरले बताउनुभयो । पोखराबाट पहिलो दिन ३० करोडका सुकिला नोट बागलुङमा आएको थियो । जिल्लाभित्र रहेका अन्य बैङ्कलाई मात्र १२ करोड रुपियाँका सुकिला नोट नेपाल बैङ्कले प्रदान गरेको छ ।

अन्य बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणका लागि नोट साट्न सक्ने गरी व्यवस्था मिलाएको नेपाल बैङ्क लिमिटेड बागलुङले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले नोट पर्याप्त पठाएकोले दसैँका लागि सुकिला नयाँ नोटको अभाव बागलुङमा नहुने बैङ्कले जनाएको छ ।