म्याग्दी कारागारबाट भागेका ३९ कैदीबन्दी नियन्त्रणमा

/ प्रकाशित मिति :
मंगलबार, भाद्र ३१ २០८२

बागलुङ, ३१ भदौ –जिल्ला कारागार शाखा म्याग्दीबाट भागेका ३९ जना कैदीबन्दीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार गत बुधबार भागेका कैदीबन्दीहरु मध्ये चार दिनको अवधिमा ३९ जनालाई प्रहरीले नियन्त्रण गरेको हो । कारागारबाट ७६ कैदीवन्दी भागेका थिए ।

३७ जना कैदी बन्दीहरु अझै फरार रहेको पौडेलले जानकारी दिनुभयो । जिल्ला कारागार कार्यालय म्याग्दीका जेलर प्रतिज्ञा सुवेदीका अनुसार विभिन्न कसुरमा कैद भुक्तानी गरी रहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरु गरी ८८ जना मध्ये ७६ जना फरार भएका थिए ।
कैदी बन्दीहरु भागेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३ क) बमोजिम बेनी नगरपालिकाको ६ वटा वडाहरुमा कफ्र्यु आदेश जारी गरेको थियो ।

यसैबीच गत २५ गते बुधबार बिहान कारागार कार्यालय तोडफोग गर्न पुगेका समूह मध्ये प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक(डिएसपी) सूर्यबहादुर थापाले बताउनुभयो ।

कारागार ऐन २०७९ को परिच्छेद ८ को कसुर तथा सजाय अन्तरगत दफा ४९ कसुर तथा सजायको उपदफा २ मा कसैले कुनै बन्दीलाई भगाएमा वा भगाउने उद्योग गरेमा तीन वर्ष सम्म कैद वा ३० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै हुने छ भन्ने उल्लेख गरिएको छ ।

सोही दफा अनुसार जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत म्याग्दीबाट पहिलो ७ दिन म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । कारागार तोडफोड गरी १५ जना भन्दा बढी कारागार भित्रै पुगेर कैदी बन्दीलाइ भगाएको स्थानीय प्रत्यक्षदर्शीको भनाई रहेको छ ।