रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर कुडुले फेदीमा अखण्ड हरिनाम संकिर्तन हुने

/ प्रकाशित मिति :
शुक्रबार, साउन २४ २០८२

बागलुङ, २३ साउन – श्री रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुडुले फेदीमा तिन दिने अखण्ड हरिनाम संकिर्तन हुने भएको छ ।

स्वामी श्रीधराचार्यको ८६ औ जन्म नक्षेत्रको अवसर पारेर हरिनाम संकिर्तन सहित विविध कार्यक्रमको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो । कार्यक्रम यहि साउन २५ गतेदेखी २७ गतेसम्म संचालन हुने उहाँले बताउनुभयो ।

रंङ्गवैकटेश मुक्तिनारायण मन्दिरका परिकल्पनाकार त्रिदण्डी रामानुज वैकुण्ठबासी स्वामी श्रीधराचार्यको जन्म नक्षेत्रका अवसरमा अखण्ड किर्तन सहित प्रवचन, आचार्य आराधना, श्री बिष्णु सहस्रनाम पाठ लगायतका कार्यक्रमको आयोजना गरिएको श्रीधराचार्य शालग्राम संग्राहालयका संरक्षक तथा परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।

स्वामी श्रीधराचार्यद्वारा २०४० सालमा नेपाली वास्तुशैलीमा स्थापना गरिएको श्रीराम नाम अंकित गण्डकी शिलाले निर्माण गरिएको मुक्तिनारायण मन्दीर र मन्दिर परिसरमा निर्मित सवालाख शालग्राम शिलाको अवलोकन र दर्शन गर्नका लागि आउने धार्मिक पर्यटक र भक्तजनको संख्यामा बर्षेनी वृद्धि हुंदै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यतिबेला भने मन्दिरमा झुला उत्सव चलिरहेको मन्दिर व्यवस्थापन समितिका सचिव रामकृष्ण सापकोटाले जानकारी दिनुभयो ।