बागलुङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

/ प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ३१ २០८२

बागलुङ, ३० बैशाख –बागलुङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । बागलुङ गण्डकी प्रदेशमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तेस्रो जिल्ला बनेको छ । यसअघि म्याग्दी र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका १३ देखि २३ महिनाका ३ हजार ९८ जना बालबालिकाले पूर्ण खोप र शुन्यदेखि १५ महिना उमेर समूहका ३ हजार ५ सय ५२ जना बालबालिकाले खोप लगाइरहेका छन् ।

दशवटै पालिकाका सबै बालबालिकाहरुले पूर्ण खोप लगाएपछि बागलुङलाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दै प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणाको प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाठकले मातृशिशु मृत्युदर घटाउन प्रदेश लागिपरेको बताउनुभयो । खोप अभियान दिगोपना महत्वपूर्ण विषय भएकाले यसलाई कायम राख्न तीनै तहका सरकार हातेमालो गरी अघि बढ्नुपर्नेमा पाठकको जोड थियो।बालबालिकालाई तोकिएको समयमा खोप दिनुका साथै पोषणयुक्त खानाको प्रबन्धले मात्र स्वस्थ्य राख्न सकिने भएकाले त्यसतर्फ सजग रहन मन्त्रीपाठकले आग्रह गर्नुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार, ताराखोला गाउँपालिकाका १६ देखि २३ महिनाका ७०, बरेङका ५ सय ९, काठेखोलाका २ सय ७, बडिगाडका ३ सय ५५, निसीखोलाका ३ सय ७७ र तमानखोला गाउँपालिकाका १ सय १४, बागलुङ नगरपालिकाका ४ सय ५९, जैमिनीका २ सय २६, गलकोटका ३ सय २७ र ढोरपाटन नगरपालिकाका ४ सय ५४ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् ।

कार्यक्रममा पूर्ण खोप अभियानमा उत्कृष्ट कार्य गर्ने दश पालिकाका दश जना स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई समेत सम्मान गरिएको थियो ।