पर्वतका साहित्यकार प्राःडा रेग्मी सहित ६ जनालाई सम्मान

/ प्रकाशित मिति :
मंगलबार, जेष्ठ २८ २០८२

बागलुङ, २५ जेष्ठ – स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मा पर्वतका साहित्यकार सहित छ जना  स्रष्टालाई सम्मान गरिएको छ ।
स्याङ्जा साहित्य प्रतिष्ठानले आयोजना गरेको स्रष्टा सम्मान, रचना वाचन एवम् रजस्थल साहित्यिक पत्रिकाको शताङक विमोचन कार्यक्रममा सम्मान गरिएको हो ।

राङखोला लक्ष्मी स्मृति पुस्तकालयले स्थापना गरेको महाकवि देवकोटा पुरस्कारबाट जलजला–५ पर्वतका प्राध्यापक डाक्टर जगन्नाथ रेग्मी सम्मानित हुनुभएको छ ।

रेग्मीलाई २० हजार नगद सहित ताम्रपत्रले सम्मान गरिएको हो । सिर्जना, समालोचना र अनुसन्धानका माध्यमबाट नेपाली भाषा साहित्यको श्रीवृद्धिमा विशेष योगदान पु¥याएकोले रेग्मीलाई पुरस्कृत गरिएका राङखोला लक्ष्मी स्मृति पुस्तकालयले जनाएको छ ।

यस्तै प्रतिष्ठानले स्थापना गरेको कालीगण्डकी साहित्य कला पुरस्कारबाट राइपुर तनहुँ(हाल चितवन)का डाक्टर धनेश्वर भट्टराई, पुतलीबजार नगरपालिका–१४ का तुलसी गिरीले स्थापना गरेको यानीति साहित्य पुरस्कारबाट वालिङ नगरपालिका–१२(हाल ललितपुर) का शान्ति सापकोटा, यस्तै निर्मल गिरी–टुकमायाँ गिरी पर्यावरण पुरस्कारबाट सहिद लखन गोरखाका नारायाणप्रसाद पोखरेल, रुयली स्मृति साहित्य पुरस्कारबाट शंकर पोखरी पर्वत(हाल नवलपुर)का सदानन्द जैसी, बलराम–टोपली देवी स्मृति बाङमय पुरस्कारबाट चम्पानगर चितवनका प्रकाश चापागाईलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले जानाकारी दिनुभयो ।

महाकवि देवकोटा पुरस्कारको रासी २० हजार र अन्य पुरस्कार पाउने सबैलाई नगद १५÷१५ हजारनगद सहित दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरिएको थियो ।